काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पृथ्वीनारायण शाहको एकता अभियानपछिको ठूलो कर्म जनयुद्ध भएको दाबी गरेका छन्। पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनद्वारा लिखित पुस्तक ‘यात्रा जिन्दगी’को सार्वजनिक समारोहमा बिहीबार सम्बोधन गर्दै उनले जनयुद्धको इतिहासलाई कसैले दबाउन नसक्ने बताए।
प्रचण्डले जनयुद्ध दिवसका अवसरमा दिएको बिदाप्रति टिप्पणी हुने गरेको भन्दै आफ्नो निर्णयको बचाउ गरेका थिए। ‘पृथ्वीनारायण शाहको एक खालको कर्मपछिको ठूलो कर्म नेपाली जनताले ल्याएको त्यही (जनयुद्ध) नै हो। त्यसलाई अहिले जति दबाउन खोजे पनि इतिहासमा पटकपटक उठिराख्छ। त्यो चिहानबाट फेरि उठ्छ’, उनले भने, ‘किनभने हजारौं मान्छेहरूले आफूखुसी बलिदान दिएको आन्दोलनलाई कसैले एक छिन दबाए पनि फेरि उठ्छ।’
उनले आँट गरेको पृथ्वी जयन्तीको दिन बिदा दिएको बताए। ‘अरुले सकेका थिएनन्’, उनले भने, ‘शान्ति सम्झौतापछि धेरै प्रधानमन्त्री भए नि, कुरा त गर्थे तर कसैले आँट गरेका थिएनन्। मैले आँट गरेँ। यो आँट गरेकोमा सबैले ठीकै मानेको जस्तो लाग्छ।’
उनले आफूहरू भौतिकवादी भएकाले पृथ्वीनारायण शाहलाई सम्मान गरेको बताए। ‘मानिसहरूलाई प्रचण्डले के गर्यो भन्ने पनि लाग्छ। तर नेपाली इतिहासमा त्यो (पृथ्वीनारायण शाहको नेतृत्वको अभियान) एउटा ऐतिहासिक परिघटना थियो। जसले आधुनिक नेपाल निर्माणको प्रक्रियामा एउटा ‘माइलस्टोन’को भूमिका खेल्यो। हामी ऐतिहासिक भौतिकवादी हुनुको नाताले भौतिक ढंगले त्यसलाई सम्मान गर्नु हाम्रो कर्तव्य हो भन्ठानेर बिदा दिएको हुँ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।