काठमाडौं– एमाले कोशी प्रदेश सांसद बुद्धिकुमार राज भण्डारीले मुख्यमन्त्री केदार कार्कीलाई एमालेको साथ छाड्नुको कारण सोधेका छन्। बिहीबार बसेको प्रदेश सभा बैठकमा सांसदको प्रश्न मुख्यमन्त्रीको उत्तर कार्यक्रममा सांसद भण्डारीले उक्त प्रश्न गरेका हुन्।
उनले प्रश्न गर्दै भने,‘हिजो विद्रोह गरेर मुख्यमन्त्री बन्नुभयो। एमालेले साथ दियो। आज त्यो किन बिर्सिनु भयो?’
जवाफमा मुख्यमन्त्री कार्कीले आफूले एमालेलाई नछोडेको दाबी गरे।
‘सरकारले नेकपा एमालेलाई छोडेको छैन। एमाले प्रतिपक्षमा आफ्नै इच्छाले बसेको हो। म यति भन्छु। मैले खोलो तर्दा लौरो बिर्सेको छैन। लौरो सुरक्षित राखेको छु,’ उनले जवाफ दिए।
असोज २७ गते संघीय गठबन्धनको निर्णय विपरीत गएर कांग्रेस सांसद कार्की एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए।
तर पछि एमालेसँगको सहमति विपरीत माओवादी लगायतका दलहरुलाई सरकारमा सहभागी गराएपछि एमाले सरकारबाट बाहिरिसकेको छ तर समर्थन भने कायमै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।