काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा आज (बुधबार)देखि भूकम्प प्रभावित क्षेत्रमा परिचालित हुने भएका छन्।
कर्णाली प्रदेशमा गएको भूकम्पपछिको उद्धार, राहत र पुन:स्थापनाका सन्दर्भमा कांग्रेसले महामन्त्रीद्वय थापा र शर्माको नेतृत्वमा ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ गठन गरेको छ। समिति गठनको उद्देश्यअनुसार महामन्त्रीद्वय जाजरकोट र रुकुम पश्चिमसहितका जिल्लामा खटिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
भूकम्प प्रभावित क्षेत्रमा परिचालित हुँदा महामन्त्रीद्वय ७ बुँदे कार्यमा केन्द्रित हुने मुख्यसचिव पौडेलले जनाएका छन्।
महामन्त्रीद्वयले भूकम्प प्रभावितहरुलाई राहत वितरणमा भइरहेको कमजोरी उजागर गरी कमजोरीहरुको वास्तविकता पहिचान गरी अविलम्ब उचित व्यवस्थापनमा ध्यानाकर्षण गर्ने तथा सहजीकरण गर्नेछन्। यस्तै, संघ, प्रदेश, स्थानीय सरकार, राजनैतिक दलहरू, विभिन्न संघ–संस्था एवं स्वयं सरकारी निकायहरु बीच ‘एकद्वार प्रणाली’ अनुसार समन्वय भएको छ या छैन, छैन भने एकद्वार पालना गर्न/गराउन थप सुझाव र सहजीकरण गर्ने कांग्रेसले जनाएको छ।
उद्धार र राहतमा पुगेका बाह्य संघ–संस्था र व्यक्तिहरुबाट कतै प्रतिकुल असर परेको अवस्थाबारे निरीक्षण गर्ने पनि कांग्रेसले जनाएको छ। महामन्त्रीद्वयले उद्धार र राहत वितरणका क्रममा पार्टीको स्थानीय भूमिकाको प्रभावकारिता, कमजोरी एवं अन्य दलहरूसँगको समन्वयको सहज स्थिति रहेको नरहेको स्थलगत बुझेर जरुरी समन्वय र प्रभावकारीतामा प्रेरित गर्ने तथा दीर्घकालीन रुपमा पुन:स्थापनामा सम्पादन गर्नुपर्ने बिषयहरुको अध्ययन गर्ने पनि कांग्रेसले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।