काठमाडौं– सभामुख देवराज घिमिरेसँग बेलायती राजदूत रोब फेनले शिष्टाचार भेट गरेका छन्। भेटमा बेलायतसँग नेपालको सहकार्य, संसदीय आदान प्रदान तथा द्विपक्षीय हितका विषयमा छलफल भएको छ।
भेटमा सभामुख घिमिरेले नेपाल र बेलायतबीच सदियौंदेखि घनिष्ट सम्बन्ध रहेको बताउँदै नेपाल र बेलायतबीच रहेको राजनैतिक सम्बन्ध, आर्थिक तथा सांस्कृतिक सम्बन्ध तथा जनस्तरमा कायम मित्रता अद्वितीय रहेको उल्लेख गरे।
सभामुखले सन् २०१६ मा नेपाल–बेलायत कूटनीतिक सम्बन्ध स्थापनाको २ सय वर्ष मनाएको स्मरण गर्दै यो वर्ष दुई देशबीच मैत्री सन्धि सम्पन्न भएको एक सय वर्ष मनाउँदै गरेको बताए।
‘आपसी सम्बन्धहरु हरेक दिन थप प्रगाढ हुँदै गएको प्रति म खुशी व्यक्त गर्दछु,’ सभामुखले भने, ‘नेपाल र बेलायत बीच लोकतन्त्र, संसदीय व्यवस्था, कानूनी शासन, मानव अधिकार साझा मूल्य–मान्यता रहेका छन्। यी विषयमा बेलायतको लामो र समृद्ध अभ्यास र इतिहास रहेको छ । नेपालको लागि बेलायती अभ्यास एवं अनुभव अनुकरणीय रहदैं आएको छ।’
सभामुख घिमिरेले राजनैतिक स्थायित्वसँगै नेपालले विकास, समृद्धि र सुशासनको पथमा गति लिएकोसमेत बताए। ‘नेपाल सरकारको निकट भविष्यमा अति कम विकसित राज्यको सूचीबाट स्तरोन्नति भई सन् २०३० सम्म मध्यम आय भएको राष्ट्र बन्ने लक्ष्य रहेको छ। नेपालको यस विकास प्रयासमा बेलायतको निरन्तर सहयोगको आवश्यकता रहेको छ,’ सभामुखको भनाइ थियो।
२०१५ र हालै पश्चिम क्षेत्रमा गएको भूकम्प तथा कोभिड नियन्त्रणका लागि उद्धार भावनाका साथ नेपाललाई सामग्री र भ्याक्सिन उपलब्ध गराएकोमा सभामुखले बेलायत सरकारप्रति आभार व्यक्त गरे। उनले संसदीय मैत्री समूहमार्फत् दुई देशबीच संसदीय आदान प्रदानमा जोड दिए।
बेलायती राजदूत रोबले नेपालले आगामी दिनमा नेपालको जनशक्तिलाई स्वदेशमै राखेर विकासलाई तीब्रता दिने विश्वास व्यक्त गरे। उनले बेलायतले आगामी दिनमा पनि विकास सहायतालगायतका विषयमा नेपाललाई दिँदै आएको सहयोग वृद्धि गर्ने तयारी गरिरहेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।