काठमाडौं– नेकपा माओवादी केन्द्रको उपत्यका विशेष प्रदेशले जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितका लागि राहत पठाएको छ। प्रदेश इन्चार्ज वर्षमान पुन अनन्तले गोंगबु नयाँबसपार्क पुगेर सोमबार भूकम्प प्रभावित क्षेत्रका लागि राहत पठाएका हुन्।
४ सय थान कम्बलसहित चाउचाउ र खाद्यान्न पठाइएको सो माओवादी सम्बद्ध मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्षसमेत रहेका प्रदेश अध्यक्ष जगत सिंखडाले बताए।
यस्तै सिरक, त्रिपाल र म्याट ४/४ सय थान तथा ४ सय क्विन्टल चामलसमेत पठाउन लागिएको पुनले जानकारी दिए। बुधबार वा बिहीबारसम्म राहत सामग्री प्रभावितका जिल्ला दैवी प्रकोप उद्धार समिति समक्षा पुग्ने गरी व्यवस्था मिलाइएको उनको भनाइ थियो।
उनले प्रभावितहरु नियमित जीवनमा नफर्किँदासम्म पार्टी र सरकारका तर्फबाट राहत संकलन र वितरण जारी राखिने जानकारी दिए।
जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोटमा १ सय ४ र रुकुमपश्चिममा ५३ गरी १ सय ७५ जनाले ज्यान गुमाएका छन्।
दुई सयभन्दा बढी घाइतेको जाजरकोट, रुकुमपश्चिम, सुर्खेत, बाँके र काठमाण्डुका विभिन्न अस्पतालमा उपचार जारी छ। भूकम्पका कारण झण्डै ८ हजार घर बस्नै नमिल्ने गरी भत्किएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।