काठमाडौं– चेतन मानन्धरको हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी भयो। असोज ३ गते आममाफी पाएपछि मृतककी श्रीमती भारती मानन्धरले अनसन सुरु गरिन्।
सरकारले आममाफी दिएसँगै विभिन्न पक्षबाट सरकार र राष्ट्रपतिको आलोचना भयो। सरकारविरुद्ध पीडित मानन्धरले सर्वोच्च अदालतमा रिट दायर भइ अहिले सर्वोच्च अदालतबाट सरकारको निर्णय बदर गर्दै सर्वोच्च अदालतले पुनः पक्राउ गरी बाँकी कैद सजाय भुक्तानी गर्न जेलमा पठाउने आदेश दिएसँगै रिगल पुनः जेल चलान भएका छन्।
तर यत्रो दिन बितिसक्दासमेत सरकारी पक्षबाट कुनै आत्मालोचना र गल्ती स्वीकार गरिएको छैन। त्यसैले पनि आम मानिसहरु सरकारप्रति अझै रुष्ट छन्। हत्या अभियोगमा उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो।
साथै, उक्त घट्नामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो। रिगलमाथि २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा दिउँसो चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो।
अदालतले पुनः जेल चलान गर्न आदेश दिएसँगै सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले गरेको आदेशले कैदमा बसेको व्यक्तिको कैद छुटको सन्दर्भमा देशमा भइरहेका बेथितिलाई लगाम लगाउन र थिति बसाउन यस घटना कोशेढुंगा सावित हुने बताएका छन्।
उनले भने, ‘सम्मानित सर्वोच्च अदालतले कार्तिकको १६ गते जे आदेश ग¥यो कैदमा बसेको व्यक्तिको कैद छुटको सन्दर्भमा माफीको सन्दर्भमा यो वास्तवमै हाम्रो बेथितिलाई लगाम लगाउनलाई र थिति बसाउनलाई यो कोशेढुंगा सावित हुनेवाला छ। यो अत्यन्तै महत्वपूर्ण फैसला सम्मानित सर्वोच्च अदालतले गरेको छ।’
उनले सरकाले यस घटनाको नैतिक जिम्मेवारी लिन नसकेको बताए। अहिलेसम्म पनि सरकारले यस घटनाको नैतिक जिम्मेवारी लिइ आत्मलोचना र माफीसमेत नमागेको उनको भनाइ थियो। उनले सरकारले यस घटनाको जिम्मेवारी लिएर राजीनामा दिनुपर्नेमा अहिलेसम्म आत्मालोचना र जिम्मेवारीसमेत नलिएकोप्रति दुःख व्यक्त गरे।
उनले यस घटनाको जिम्मेवारी लिने कोही छैन सरकारमा? भन्दै प्रश्नसमेत गरे। निश्चित अवधि भुक्तान गरिसकेपछि चालचलन, आचरणलाई आधार बनाएर माफी दिने प्रचलन विकसित देशमा पनि हुने गरेको भन्दै सरकारले जथाभावी गर्दा अदालतले हस्तक्षेप गर्ने यस किसिमका घटनालाई स्वभाविक मान्नुपर्ने उनको बुझाई छ।
![Ncell 2](https://nepallive.net/uploads/bigyaapan/61456500.jpg)
![Ncell 2](https://nepallive.net/uploads/bigyaapan/61475300.jpg)
‘विकसित मुलुकमा पनि कैद सजाय पाएका मानिसहरुको सन्दर्भमा निश्चित अवधि भुक्तान गरिसकेपछि चालचलन, आचरणलाई आधार बनाएर माफीको प्रचलन हुन्छ। तर त्यो गरिरहँदै गर्दा त्यसको मर्मलाई कुल्चियो भने अदालतले यसरी नै गरेको जस्तो हस्तक्षेपलाई स्वभाविक मान्नुपर्ने हुन्छ। कतिपय यस्ता मुद्दाहरु हुन्छन्, जुन मुद्दाको सन्दर्भमा माफीमा जान पाइँदैन। कैद छुट गर्न पाइँदैन। सरकारले अहिले जे कैद छुट गयो, त्यो छुट गरिसकेपछि हामीले थाहा पाउँदै गर्दा कतिपयले के भन्नुहुन्छ भन्दा पार्टीको महामन्त्रीले त सरकारले कैद छुट गर्नभन्दा अघि नै रोक्नुपर्दथ्यो भन्छन्। तर वास्तविकता सरकारले निर्णय गरेकोमा पार्टीका महामन्त्रीको कुरा रहँदैन। पार्टीको कुरा के थियो, त्यो मुख्य कुरा हो। गणतन्त्र बलियो बन्न राष्ट्रपति संस्थाको गरिमा हुनुपर्छ। तर राष्ट्रपति संस्थालाई विवादित बनाउने कार्य सरकारले गर्दैछ,’ उनी भन्छन्।
उनले गणतन्त्र बलियो बन्न राष्ट्रपति संस्थाको गरिमा हुनुपर्ने भए पनि राष्ट्रपति संस्थालाई विवादित बनाउने कार्य सरकारले गरिरहेको आरोप लगाए। पीडितको परिवारजनले माफी दिन तयार नभएसम्म यस किसिमका घटनामा माफी दिनु नहुने उनको तर्क छ।
प्रधानमन्त्रीले यस घटनाको नैतिक जिम्मेवारी लिइ पदबाट राजीनामा गर्नुपर्ने उनको माग छ। यस घटनामा राष्ट्रपति कार्यालयले समेत हेलचेक्राँई गरेको उनी बताउँछन्। राष्ट्रपतिको कार्यालयले कस्तो सिफारिस हो भन्ने कुरामा ध्यान दिनुपर्ने उनले बताए।
उनले अघि भने, ‘अब प्रावधान बनाउँदै गर्दा छिद्रमा टेकेर जुन गल्ती भएको छ, त्यसलाई टाल्न पीडितको परिवारजनले माफी दिन तयार छ की छैन ? भन्नेकुरा सोक्नुपर्छ । त्यो व्यवस्था गर्नुपर्छ। सर्वोच्चले गल्ती भयो भनेर फैसला गर्दासमेत कोही पनि आत्मालोचना गरेको देख्दिनँ। हाम्रो पार्टीको कानुनमन्त्री हुनुहुन्छ, पार्टीको उपभासपति पार्टीको टिमको लिडरसिप गरेर मन्त्रीमण्डलमा उपप्रधानमन्त्री हुनुहुन्छ। कसैले जिम्मेवारी लिनुपर्दैन? सम्माननीय प्रधानमन्त्रीले यसमा नैतिक जिम्मेवारी आफू वा अरु कसैले लिनुपर्दैन? बोल्नुपर्दैन? राष्ट्रपतिको टेबुलमा पुग्दैगर्दा राष्ट्रपतिको टेबुलमा पनि राष्ट्रपतिको कार्यालयमा रहेको टिमले पनि कस्तो सिफारिसको कुरा आएको छ भनेर हेर्नुपर्दैन? कसै न कसैले कि जिम्मेवारी लिएर राजीनामा गरेर आउनुपर्दथ्यो।’
कार्तिक १६ गते न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश दिएको थियो। इजलासले रिगललाई बाँकी कैद माफी दिने निर्णय ‘अपराध पीडितको हक प्रतिकुल देखिएको’ जनाएको छ।
‘निज प्रत्यर्थी रिगल ढकाललाई तत्काल पक्राउ गरी माथि उल्लेख भए बमोजिमको कर्तव्य ज्यान मुद्दामा ठहर भएको जन्मकैदमध्ये निजबाट असुल उपर हुन बाँकी देखिएको ११ वर्ष ११ महिना ५ दिन कैद निजलाई कारगारमा राखि कान'न बमोजिम असुल गर्नू’ भनी प्रत्यर्थीहरुको नाममा परमादेश जारी हुने ठहर गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।