काठमाडौं– नेपाली कांग्रेसले जाजरकोट भूकम्पका प्रभावितलाई राहत तथा पुन:स्थापनाका लागि पार्टीको तर्फबाट घोषणा गरिएको ५० लाख रुपैयाँको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेको छ।
पार्टी सभापति शेरबहादुर देउवासहित नेताहरुले मंगलबार बालुवाटार पुगेर प्रधानमन्त्रीलाई चेक हस्तान्तरण गरेका हुन्। चेक हस्तान्तरण गर्दै सभापति देउवाले भूकम्पपछिको उद्धार, पुन:स्थापना, पुन:निर्माणका सम्बन्धमा सुझावसहित ध्यानाकर्षण पत्र समेत बुझाएका छन्।
ध्यानाकर्षण पत्रमा कांग्रेसले उद्धार, राहत र पुन:स्थापनाको तत्कालीन, अल्पकालीन र दीर्घकालीन अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउनु अपरिहार्य रहेकोमा जोड दिएको छ। कांग्रेसले भूकम्पलगत्तै प्रधानमन्त्रीसहित संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरुले सक्रियतापूर्वक निर्वाह गरेको भूमिकाको प्रशंसा गरेको छ।
भूकम्प प्रभावितका लागि विभिन्न संघ–संस्थाले उपलब्ध गराएको राहत सामग्रीहरु विभिन्न केन्द्रमा थुप्रिएको, तर पीडितले पर्याप्त मात्रामा राहत सामग्री नपाएको भन्ने समाचार सार्वजनिक भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ।
भूकम्पपछिको राहत तथा उद्धार र पुन:स्थापनामा प्रदेश र स्थानीय सरकारलाई नै नेतृत्वदायी भूमिका दिएर संघीय सरकारले अनुगमन र सहजीकरण गर्नु उपयुक्त हुने सुझाव समेत दिएको छ।
कांग्रेसले आउँदी हिउँद यामलाई मध्यनजर गरेर भूकम्पबाट बास गुमाएकाहरुलाई जतिसक्दा छिटो अस्थायी आवासको व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ।
उद्धार र राहतको प्राथमिक चरणपछि घर तथा परिवारमा परेको असरले बालबालिकाको मानोविज्ञानमा परेको नकरात्मक असर कम गर्न विद्यालय, क्याम्पसहरुमा अतिरिक्त मनोवैज्ञानिक कक्षाहरु समेत लिन लगाउने कार्य प्रदेश तथा स्थानीय सरकारले गर्नुपर्ने कांग्रेसको सुझाव छ।
जाजरकोट भूकम्पपछिको उद्धार, राहत, पुन:स्थापना र पुन:निर्माणका सम्बन्धमा सुझावसहित कांग्रेसको ध्यानाकर्षण पत्र:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।