काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीले जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावितहरुलाई २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। सोमबार बसेको पार्टीको सचिवालय बैठकले केही दिनअघि जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पबाट प्रभावितहरुलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले सो रकम पार्टी कार्यकर्ताहरुबाट संकलन गरेर सरकारको कोषमा जम्मा गर्ने जानकारी दिए।
उनले भने, ‘हाम्रो पार्टीले भूकम्प प्रभावितहरुको लागि उद्दार र राहतको कार्यमा सहयोग पुर्याउनका लागि लागि केन्द्रीय कार्यालयको दुई दिन अगाडिको बैठकले पार्टीका उपमहासचिव तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई त्यो ठाउँको विशेष जिम्मेवारी दिएर पहिल्यै पठाइएको छ। आज पार्टीका कार्यकर्ताहरुबाट आर्थिक सहयोग संकलन गरी सरकारको राहत कोषमा २५ लाख रुपैयाँ पार्टीका तर्फबाट प्रदान गर्ने निर्णय गरेको छ।’
त्यसका लागि पार्टीका संघीय सरकार र प्रदेश सरकारका मन्त्रीहरु, सांसदहरु र जनप्रतिनिधिहरु एवं राजनीतिक नियुक्तिमा गएका व्यक्तिहरुबाट १५ दिनको पारिश्रमिक जम्मा गर्ने उनले बताए।
‘यसको स्रोत हामीले पार्टी कार्यकर्ताहरुबाट आर्थिक सहयोग संकलन गर्दै त्यहाँ बुझाउने छौं। यही प्रयोजनका लागि हाम्रो पार्टीका संघीय सरकार र प्रदेश सरकारका मन्त्रीहरु, सांसदहरु र जनप्रतिनिधिहरु एवं राजनीतिक नियुक्तिमा जानुभएका व्यक्तिहरुबाट १५ दिनको पारिश्रमिक पार्टीको राहत कोषमा जम्मा गर्नुहुनेछ भन्ने निर्णय गरेका छौं। उद्धार, राहत, पुर्नस्थापना आदिको व्यवस्थापन कार्यमा सहयोग, सहकार्य र अनुगमन गर्नका लागि पार्टीले एक कार्यदल गठन गरेको छ,’ उनले भने।
बैठकले भूकम्प प्रभावित स्थानमा उद्धार, राहत र पुनःस्थापनाको काममा सहयोग, सहकार्य र अनुगमनका लागि एक कार्यदल पनि गठन गरेको छ। प्रवक्ता खतिवडाकाअनुसार सो कार्यदलको संयोजक पार्टीका उपमहासचिव तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला रहेका छन्।
सदस्यहरुमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपार्इं, सांसद अमरबहादुर थापा, धनबहादुर बुढा, प्रदेश सांसद कल्याणी खड्का र पार्टीका प्रदेश सचिव कृष्ण बिसी, खगेन्द्र प्रकाश पुरी र पश्चिम रुकुम र जाजरकोट जिल्लाका पार्टी अध्यक्षहरु रहेको उनले बताए।
त्यसैगरी बैठकले पार्टीले असोज १४ गतेदेखि २८ गतेसम्म सञ्चालन गरेको समाजवादी जागरण अभियान प्रभावकारी भएको निष्कर्ष निकालेको छ। प्रवक्ता खतिवडाले अभियानले नयाँ संविधानमा व्यवस्था गरिएको समाजवादी व्यवस्थाको प्रचार र समाजवादी चेतनाको विस्तारमा ऐतिहासिक कार्य गरेको ठहर गरिएको बताए।
उनले सो अभियानबाट समाजवादको प्रारम्भिक अवस्था नेपालको कृषि क्रान्तिबाट सुरु हुन्छ भन्ने कुरालाई स्थापित गरेको पनि दाबी गरे। बैठकले पार्टीको महाधिवेशन माघ महिनामा काठमाडौंमा गर्ने तय गरेको छ। प्रवक्ता खतिवडाले भोलि(मंगलबार) पार्टी अध्यक्ष माधवकुमार नेपाल लगायत १५ सदस्यीय टोली चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा जाने जानकारी पनि दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।