काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो युरोप भ्रमण स्थगित गरेका छन्। राष्ट्रपति पौडेलको १० दिने युरोप भ्रमण यसअघि मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो।
तर शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर ठूलो भूकम्प गएर ठूलो धनजनको क्षति भएपछि तत्कालको लागि राष्ट्रपतिले आफ्नो भ्रमण स्थगित गरेको उनको सचिवालयले जनाएको छ।
देशको असहज परिस्थिति र संकटपूर्ण घडीलाई मध्यनजर गर्दै युरोपका ३ देशको भ्रमण स्थगित गरिएको हो। पौडेल यही कात्तिक २२ गतेदेखि १० दिनका लागि फ्रान्स, इटली र जर्मनीको भ्रमण गर्ने तालिका मन्त्रिपरिषद्बाट स्वीकृत भएको थियो।
सामाजिक सञ्जालमा राष्ट्रपतिको भ्रमणलाई लिएर टिका टिप्पणी सुरु भएको थियो। देश असहज अवस्थामा रहेकाले राष्ट्रपतिको भ्रमण गर्न नहुने आवाज उठेपछि उनले स्थगित गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।