काठमाडौं- कोशी प्रदेश सरकारबाट बाहिरिएको दुई दिनपछि नेकपा एमालेले प्रतिपक्षमा बस्ने निर्णय लिएको छ। सोमबार बसेको पार्टीको संसदीय दलको बैठकले प्रमुख प्रतिपक्षमा बस्ने निर्णय लिएको हो। तर, सरकारलाई दिइएको विश्वासको मत भने फिर्ता नलिने निर्णय गरिएको छ।
‘पछि निर्णय हुँदै जाला, हाल सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गर्यौं’, बैठकपछि प्रमुख सचेतक रेवती भण्डारीले भनेका छन्, ‘सरकारबाट चाहिँ हामी फिर्ता भयौं।’
सामान्यतया सरकारबाटै बाहिरिँदा समर्थन फिर्ता पनि लिने प्रचलन छ। र सामान्यतया त्यसपछि सरकारले विश्वासको मत लिने गर्छ। तर, एमालेको सत्ता बहिर्गमन र प्रमुख प्रतिपक्षी बन्ने निर्णयपछि पनि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने बाध्यता छैन। ‘हामीले विश्वासको मत फिर्ता नलिएका कारण सरकारले पनि विश्वासको मत लिनुपर्दैन’, भण्डारीले भने।
एमालेले किन विश्वासको मत फिर्ता लिएन त?
पहिलो कारण हो, अस्थिरता सिर्जना गरेको आरोप नलागोस् भन्ने सचेतता। केदार कार्कीलाई मुख्यमन्त्री बनाउँदा एमालेले प्रदेशलाई मध्यावधिमा जानबाट रोकेको तर्क पनि गरेको थियो। तर अहिले नै विश्वासको मत फिर्ता लिँदा मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने हुनसक्थ्यो।
त्यसो हुँदा उनले आवश्यक मत नपाउन पनि सक्थे। र प्रदेश मध्यावधिमा होमिन सक्थ्यो। त्यसैले एमालेले प्रमुख प्रतिपक्षमा बस्ने निर्णय गरेर पनि विश्वासको मत भने फिर्ता लिएन।
अस्थिरता निम्त्याएको आरोप नलागोस् भन्ने पनि एमालेको चाहना देखिन्छ। एमालेकै प्रमुख भरथेगमा असोज अन्तिम हप्ता कार्की मुख्यमन्त्री भएका थिए। त्यही सरकारलाई केही हप्तामै विश्वासको मत फिर्ता लिएर अप्ठ्यारोमा होम्दा उसमाथि पनि प्रश्न उठन सक्थ्यो। प्रमुख सचेतक भण्डारी भन्छन्, ‘भर्खर बनाएको सरकार हो, अहिले किन समर्थन फिर्ता लिइहाल्नु? हामीले आफ्नो जिम्मेवारी बोध गरेका हौं।’
अर्कोतर्फ सरकारमा विभिन्न पार्टी आउने र जाने क्रम चलिरहन्छ। एमालेले पनि कुनै बेला पुनः सरकारमा सहभागी हुनुपर्ने हुनसक्छ। मुख्यमन्त्री बनाउँदा कार्की र एमालेबीचका भएका विस्तृत समझदारी बाहिरिएको छैन। त्यसैले उनीहरूबीच पुनः हुनसक्ने साझेदारीलाई कायमै राख्न पनि आवश्यक ठानिएको हुनसक्छ। यद्यपि भण्डारी भने सरकारमा सहभागिताको आशा आफूहरूलाई नभएको बताउँछन्।
प्रदेशमा सभामुख पद खाली छ। सत्ता पक्ष (खासगरी मुख्यमन्त्री पक्ष)सँग निकट सम्बन्ध कायमै राखिरहँदा सो पद उसले पाउने सम्भावना पनि कायमै रहन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।