काठमाडौं– कोशी प्रदेश सरकारबाट बाहिरिएको नेकपा एमालेले प्रतिपक्षमा बस्ने निर्णय गरेको छ। सोमबार बिहान बसेको संसदीय दलको बैठकले प्रतिपक्षमा बस्ने निर्णय गरेको प्रमुख सचेतक रेवती भण्डारीले जानकारी दिए।
उनले सरकारलाई दिइएको विश्वासको मत भने फिर्ता नलिने बताए। ‘आजबाट प्रतिपक्षमा बस्ने निर्णय गरियो,’ उनले भने, ‘सरकारबाट फिर्ता भइसक्यौँ। विश्वासको मत भने कायमै राख्ने निर्णय गर्यौँ।’
उनले सरकार बनाउँदाको समर्थन फिर्ता भइसकेको, तर दिइएको विश्वासको मतको समर्थन भने हाललाई फिर्ता नलिने निर्णय भएको बताए।
कोशी प्रदेशमा एमालेबाट मन्त्री बनेका रामबहादुर मगरले गत शनिबार राजीनामा दिएका थिए। कांग्रेसको एक पक्ष र एमालेबीचको समझदारी विपरीत मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराएपछि असन्तुष्ट बनेको एमालेले सरकारबाट बाहिरिने निर्णय लिएको थियो।
मगर गत असोज २८ गते विना विभागीय मन्त्री नियुक्त भएका थिए। मन्त्रालय नतोकिँदै मगरको बहिर्गमन भएको थियो।
मुख्यमन्त्री कार्कीले कात्तिक १ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए। उनलाई एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले मत दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।