काठमाडौं– संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टोनी व्लिङ्केनको निमन्त्रणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको भ्रमणमा गएका परराष्ट्रमन्त्री एनपी साउद एक साता लामो भ्रमण गरेर आइतबार स्वदेश फिर्ता भएका छन्।
उनी कातिक १२ गते अमेरिका प्रस्थान गरेका थिए। उनले आफ्नो भ्रमण सफल भएको बताएका छन्।
‘समग्रमा मेरो अमेरिका भ्रमणमा त्यहाँका उच्च सरकारी पदाधिकारीहरु, सिनेटर, नेपालका मित्रहरु, सूचना प्रविधि क्षेत्रका अमेरिकन–नेपाली पेशाविद्हरु तथा व्यवसायीहरुसँग भएको भेटघाट तथा कुराकानी अत्यन्त सौहार्द्धपूर्ण, सकारात्मक एवम् फलदायी रह्यो,’ काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा पत्रकारसमक्ष कुरा गर्दै उनले भने।
उनले आफ्नो भ्रमणबाट आगामी दिनमा नेपालमा सूचना प्रविधि क्षेत्रमा अमेरिकी लगानी प्रवर्द्वन गराउन मद्दत पुग्ने विश्वास लिएको पनि दाबी गरेका छन्।
साथै मन्त्री साउदले आफ्नो भ्रमणबाट नेपाल र अमेरिकाबीचको आपसी मित्रता,समझदारी र सहयोगमा अभिवृद्धि भई द्विपक्षीय सम्बन्धलाई अझ उचाईमा पुर्याउन योगदान पुग्ने विश्वास लिएको पनि बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।