काठमाडौं– संसदीय समितिले पश्चिम नेपालमा आएको विनाशकारी भूकम्प पीडितहरुलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्न सरकारलाई निर्देशन दिएको छ।
संघीय संसद् राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको आइतबार सिंहदरबारमा बसेको आकस्मिक बैठकले सो निर्देशन दिएको हो। त्यसैगरी बैठकले राहत, उद्धार र पुनःस्थापना कार्यलाई पनि प्रभावकारी बनाउन सरकारलाई निर्देश गरिएको समितिका सभापति प्रकाश पन्थले बताए।
समितिले विपदको यस घडीमा मानवीय सहायता उपलब्ध गराउन पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकाय, सहयोगदाताहरुलाई अपिल पनि गरेको छ। घाइतेहरुको शिघ्र तथा निःशुल्क उपचारको व्यवस्था मिलाउन पनि समितिले सरकारलाई सचेत गराएको सभापति पन्थले बताए।
समितिले सो घटनामा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदनासमेत व्यक्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।