फाइल तस्बिर काठमाडौं– राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले जाजरकोटमा शुक्रबार राति गएको विनाशकारी भूकम्पबाट प्रभावितहरूको शीघ्र उद्धार, उपचार तथा एकद्वार प्रणालीबाट राहत वितरणका लागि सरकारलाई निर्देशन दिएको छ।
आइतबार सिंहदरबारमा बसेको समिति बैठकले भूकम्पले पुर्याएको धनजनको क्षतिप्रति दु:ख व्यक्त गर्दै उद्धार तथा राहतमा प्रभावकारी ढंगले काम गर्न सरकारलाई निर्देशन दिएको हो।
‘भूकम्पबाट प्रभावित व्यक्तिहरूको शीघ्र उद्धार, घाइतेहरूको शीघ्र उपचार, पीडितहरूलाई एकद्वार प्रणालीमार्फत उचित राहत, पुन:स्थापना र क्षति भएका संरचनाहरूको उपयुक्त मोडालिटी तय गरी शीघ्र पुन:निर्माणको व्यवस्थापनमा तत्काल जुट्न यो समिति नेपाल सरकारलाई निर्देशन गर्दछ,’ निर्णयको दोस्रो बुँदामा भनिएको छ ।
समिति सभापति दिलकुमारी रावल थापा ‘पार्वती’को अध्यक्षतामा बसेको बैठकले काठमाडौंको डाँछीमा सञ्चालनमा रहेको लागत प्रभावी अर्ग्यानिक कृषि प्रविधिको स्थलगत अवलोकन गर्ने निर्णय पनि गरेको छ।
यससँगै समितिको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।