काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले जाजरकोट भूकम्पपीडितलाई सहयोग गर्न सरकारको कोषमा २५ लाख रुपैयाँ रकम जम्मा गर्ने निर्णय गरेको छ।
कार्यवाहक अध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारीको बैठकले भूकम्पपीडितलाई सहयोग गर्न सरकारको कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो।
वैठकले जाजरकोट भूकम्पबाट प्रभावित परिवारलाई राहत पुर्याउन पार्टीका संघीय सांसद तथा प्रदेश सभा सदस्यहरुको १ महिनाको तलब र पार्टीको तर्फबाट गरी २५ लाख रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा पार्टीको तर्फबाट सहयोग गर्न जाजरकोट जिल्लाका लागि प्रतिनिधि सभा सदस्य ज्ञान बहादुर शाही (ज्ञानेन्द्र शाही) को संयोजकत्वमा र रुकुम पश्चिम जिल्लाका लागि पार्टीका सहायक महामन्त्री सौरेन्द्र बहादुर शाहको संयोजकत्वमा जनपरिचालन गर्ने निर्णय पनि गरेको छ।
भूगोल केन्द्रित जिम्मेवारी कार्यक्रममध्ये जाजरकोट र रुकुम पश्चिम जिल्लाका कार्यक्रमहरू २०८० मंसिर १५ गते सम्मका लागि स्थगित गर्ने निर्णय गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।