प्रधानमन्त्रीले भूकम्प पीडितको राहतका लागि तत्काल मन्त्रिपरिषद् बैठक बोलाउनुपर्छ : महासचिव विप्लव
काठमाडौं– नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पश्चिम नेपालमा आएको विनाशकारी भूकम्प पीडितहरुलाई राहत, उद्धार र उपचारको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टीका महासचिव विप्लवले भूकम्प पीडितका लागि राहत, उद्धार र उपचारको व्यवस्था मिलाउन ढिलाई नगर्न सरकारसँग माग गरेका हुन्।
त्यसैगरी उनले तत्काल मन्त्रिपरिषद्को बैठक बोलाई पीडितलाई राहत दिनका लागि आवश्यक निर्णय लिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।
महासचिव विप्लवले प्रधानमन्त्री पुष्पकमल दाहाल एक्लैको सक्रियता भन्दा पनि पीडितलाई राहत दिनका लागि राज्यको आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् बैठक बोलाउने काममा ढिलाई गर्न नहुने तर्क गरे।
उनले विपद्ग्रस्त क्षेत्रमा स्वयंसेवकको रुपमा छिटोभन्दा छिटो सेना र प्रहरीको व्यापक परिचालन गर्न, पीडितका लागि खाद्यन्न, लत्ताकपडा र टेन्टहरुको व्यवस्था गर्न र घाइतेहरुको उपचारका लागि स्थलगतरुपमै स्वास्थ्यकर्मीहरुको परिचालन गर्न पनि सरकारसँग अपिल गरे।
सो पार्टीले भूकम्प पीडितका लागि सरकारको राहत कोषमा एक लाख जम्मा गरिदिने निर्णय गरेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। त्यसैगरी २५ क्वीन्टल चामल पीडितलाई उपलब्ध गराउने निर्णय गरिएको पनि महासचिव विप्लवले जानकारी दिए।
उनका अनुसार पार्टीले विपद्ग्रस्त क्षेत्रमा आजैबाट स्वयंसेवकको रुपमा पार्टीका नेता, कार्यकर्ता परिचालन गरिसकेको छ। त्यसैगरी स्वास्थ्यकर्मीको एउटा टोलीलाई पनि विपद्ग्रस्त क्षेत्रतर्फ पठाइको महासचिव विप्लवले बताए।
भोलि (आइतबार) स्वास्थ्यकर्मीहरुको अर्को टोली पनि पठाउने सो पार्टीले जनाएको छ। रुकम पश्चिम र जाजरकोटलाई केन्द्र बनाएर गएराति गएको भूकम्पले ठूलो क्षति गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।