काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफू सांसदभन्दा टेलिभिजन सञ्चारकर्मी हुँदा बढी प्रभावकारी रहेको बताएका छन्। बिहीबार प्रतिनिधि सभामा सम्बोधन गर्दै उनले नागरिकका समस्याहरू सुल्झाउने काममा सांसदभन्दा धेरै प्रभावकारी काम गरेको आफूलाई सम्झना आउने बताए।
सम्बोधनका क्रममा लामिछानेले संसद्ले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको बताए। विधायिकी कामको गति र मति टिठलाग्दो अवस्थामा रहेको उनले बताए।
'दुःखका साथ भन्छु, यो संसद्ले हामी जनप्रतिनिधिकै आवाज सुनेको छैन भने नागरिक तहको आवाज के सुन्थ्यो? सुनेको छैन। ध्यानाकर्षणका लागि हामीले उठाएका विषय मन्त्रीले आफ्नो नोटबुकमा टिप्न लायक सम्झिन्छन् कि सम्झिदैनन्, मलललाई थाहा छैन। तर स्पष्ट जवाफ आएको मलाई सम्झना छैन', लामिछानेले भने।
उनले कुनै पनि सांसदले आफूले ध्यानाकर्षण गराएको विषय, राखेको गुनासो र सोधेको प्रश्नमा सरकारका तर्फबाट स्पष्ट जवाफ पाएको भए त्यसलाई संयोग मात्र माने हुने अवस्था रहेको बताए।
'बरु यो सदनमा आरोपप्रत्यारोप चल्छ। राजनीतिक छेडखानी मात्रै होइन। फौजदारी अभियोग नै दर्ज गराउनुपर्ने खालको आरोपको खेती हुन्छ। शीर्ष भनिएका नेताहरूको लामो भाषणमा कुण्ठा चल्छ। मिथ्यांकको विवरण खुल्छ। आत्मप्रशंसा र विपक्षीको निन्दाको लम्बेतान सिलसिला मात्रै चल्दैन, शीर्ष भनिने ठानिने नेताहरूको लहडमा संसद् बन्धन समेत हुन्छ। संसद्लाई नागरिकको आवाज मुखरित हुने थलो बनाउन सकेकै छैनौँ हामीले', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।