काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ दलहरुले नै संघीयता खारेज गर्छन् कि भन्ने आशंका व्यक्त गरेका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले हालसम्म संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन नल्याएको भन्दै सत्तारुढ दलहरुले नै संघीयता खारेज गर्छन् कि जस्तो देखिएको बताएका हुन्।
उनले प्रदेशलाई अधिकार, कानुन र कार्य गर्ने आवश्यक जनशक्ति नदिँदा संघीय लोकतान्त्रिक गणतन्त्र कसरी टिक्छ? भनेर प्रश्नसमेत गरे। उनले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने कुरामा गम्भिर प्रश्न रहेको बताए।
उनले भने, ‘प्रदेशहरुलाई अहिलेसम्म संघीय निजामती ऐन निर्माण गरिएन। उहाँ माननीयजीले भन्दै हुनुहुन्थ्यो संघीयता खारेज गरौं। यहाँ भन्नै पर्दैन यतै बाट खारेज गर्दिन्छन् कि जस्तो पो देखियो त। आठ/आठ वर्षसम्म संघीय ऐन नबनाउनु, प्रहरी ऐन बनेको पनि कार्यान्वयन नहुनु र प्रदेशहरुलाई अधिकार, कानुन र कार्य गर्ने आवश्यक जनशक्तिसमेत नदिने अवस्थाले कसरी संघीय गणतन्त्र टिक्छ? कसरी संघीय गणतन्त्र संस्थागत हुन्छ? भन्ने एउटा गम्भिर प्रश्न रहिरहेको छ।’
उनले अगामी दिनमा लामो समयसम्म संसद् अवरुद्ध हुने र संसद्मा विधेयक नल्याउने प्रवृत्तिको अन्त्य हुनुपर्ने पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।