काठमाडौं– संविधानको धारा १६८ को उपधारा ५ बमोजिम असोज २८ गते मुख्यमन्त्रीको पद तथा गोपनियताको शपथ लिएका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तारमा ‘अलमल’ गरेका छन्।
केन्द्रीय नेतृत्वको गठबन्धनको खिलाप गएर एमालेका ३९ र कांग्रेसका आफूसहित ८ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका कार्की त्यसयता विकास भएको राजनीतिक सौदाबाजीका कारण पछि परेका हुन्।
मुख्यत: उनलाई धाप दिने नेता डा शेखर कोइरालाले असोज २७ गते सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित बालुवाटारमा एक लिखित ‘चिर्कटो’मा हस्ताक्षर गरेसँगै कार्की अप्ठ्यारोमा परेका हुन्।
त्यसअघि एमाले र ‘विद्रोही कांग्रेस’बीच बनेको समझादारी चिर्कटो प्रकरणले धरापमा पारिदियो। सो चिर्कटोमा संघमा रहेको मौजुदा गठबन्धनलाई नै कायम राख्ने उल्लेख छ। जसका कारण अब प्रदेशमा एमालेसँगको संगत त्याग्नुपर्ने वा मिलाउनुपर्ने बाध्यतामा छन् कार्की।
त्यसपछि पनि ६ सांसद रहेको राप्रपाबाहेक सबै दलबाट विश्वासको मत पाएका कार्कीले त्यसलाई व्यवस्थापन गर्न चुनौती व्यहोर्नुपरेको हो।
तर, यही बीचमा एमालेले तत्काल सर्वपक्षीय सरकारको पक्षमा आफू नरहेको बताइसकेको छ। तसर्थ, कार्की एमालेसँग सम्बन्ध तोड्ने कि नेता कोइरालाको चिर्कटोको हस्ताक्षरको खिलापमा जाने भन्ने सकसपूर्ण अवस्थामा रहेको उनी निकट एक नेता बताउँछन्। तर, यो संशयबाट उनी कसरी बाहिर आउलान् त्यो निकट समयले बताउँछ।
कार्की नेतृत्वको सरकारमा एमालेबाट बिनाविभागिय मन्त्री रहेका रामबहादुर मगर शपथ ग्रहणपछि मुख्यमन्त्रीसँग भेट नभएकोले विश्वासको संकट पलाएको बताउँछन्।
‘शपथ ग्रहणपछि एकपटक पनि मन्त्रिपरिषद् बैठक बसेको छैन। मुख्यमन्त्रीसँग सोमबार एक चरणको संवादसम्म भएको छ। र मंगलबार पनि साँझतिर छलफलमा बस्ने भन्ने छ,’ उनी भन्छन्, ‘मूलतः उहाँ त्यति सकारत्मक पनि हुनुहुन्न नकारात्मक नै पनि देख्दिनँ।’
यता, कांग्रेस सचेतक भूपेन्द्र राई आफ्नै पार्टीको मुख्यमन्त्री भए पनि सरकार गठन, विस्तारको बारेमा प्रदेशको नेतृत्व जानकार नरहेको बताउँछन्। ‘सुनेसम्म प्रदेश सभापतिसँग मुख्यमन्त्रीको छलफल भयो रे। तर उहाँले केन्द्रीय सभापतिसँग सबै विषयको छलफल गर्नुभएको होला। प्रदेश तहमा छलफल, संवाद छैन,’ नेपाल लाईभसँग कुरा गर्दै उनी भन्छन्।
प्रदेश सभापति उद्धव थापा पनि यसअघिको संवादहीनता तोडिएको बताउँछन्। गुट राजनीतिका कारण कार्की र थापाबीच तिक्तता रहँदै आएको थियो।
‘हामीले छलफल प्रारम्भ गरिसकेका छौं। सरकार गठन जस्तो विषय तत्काल टुंगिने विषय पनि होइन। गठबन्धनको कुरा छ। एमालेलाई व्यवस्थापन गर्नुपर्ने छ। निष्कर्षमा पुग्न समय लाग्छ नै,’ थापा भन्छन्।
मुख्ममन्त्री निकटका सांसद भने कार्कीले छलफल गरिरहेकोले छिट्टै सरकारले पूर्णता पाउने बताउँछन्।यो बीचमा चाडबाड पनि परेकोले सो विषयमा छलफलहरु कम भएको ती नेता दाबी गर्छन्।
‘छलफलले तीव्रता पाएको छ। संसद्बाट पाएको विश्वासको मतलाई कदर गर्नु पनि छ। धेरै दलहरुलाई मिलाउनु छ। त्यसैले समय लिएको हो। बीचमा चाडबाडले पनि हो। हल्ला भएजस्तो आलटाल होइन,’ सांसदसमेत रहेका ती नेताले बताए।
कार्कीलाई विश्वासको मत दिएका संघीय गठबन्धनका साझेदार दलसमेत रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपासँग भने उनले संवाद नगरेको सो दलका नेताहरु बताउँछन्।
‘अनौपचारिक छलफलहरु भएका छन्,’ ती दलका नेताहरु भन्छन्, ‘तर प्रदेश तहमा कुनै ठोस छलफल भएको छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।