काठमाडौं– आगामी जेठमा हुने जलवायु परिवर्तनसम्बन्धी सगरमाथा संवादका लागि सरकारले तयारी तीव्र पारेको छ । जेठ २ देखि ४ सम्म काठमाडौंमा आयोजना हुने यो कार्यक्रमका लागि विदेशी पाहुनालाई बोलाउने प्रक्रिया पनि सुरु भइसकेको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार सगरमाथा संवादका लागि दक्षिणी छिमेकी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तरी छिमेकी चिनियाँ प्रधानमन्त्री ली छ्याङलाई निमन्त्रण गरिएका छ । कूटनीतिक माध्यमबाट उनीहरूलाई निमन्त्रणापत्र पठाइसकिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा सगरमाथा संवादको तयारी गरिएको थियो । तर, कोरोनाका कारण विश्वव्यापी संकटपछि सो कार्यक्रम रोकिएको थियो ।
अहिले फेरि ओली प्रधानमन्त्री बनेपछि फेरि सगरमाथा संवाद गर्न लागिएको हो । यो कार्यक्रमको उद्देश्य हिमालयले जलवायु परिवर्तनका कारण भोग्नु परेका समस्याबारे विश्वजगतलाई उजागार गर्ने र समाधानको पहल गर्ने हो ।
नेपाल जलवायु परिवर्तनले पारेका अवसरमा पर्वतीय मुलुकले भोग्नु परेका समस्याबारे अन्तर्राष्ट्रिय मञ्चहरूमा लगातार कुरा उठाउँदै आएको छ । भारत र चीनका प्रधानमन्त्रीलाई सँगै राखेर नेपालले जलवायु परिवर्तनका बारे छलफल गर्ने तयारी थालेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।