काठमाडौं- व्यक्ति हत्यामा सर्वस्वसहित जन्मकैद ठहर भएका रिगल भनिने योगराज ढकाललाई दिइएको माफी मिनाहाविरुद्ध परेको रिट पूर्ण इजलासमा पेशी तोकिएको छ। न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासमा पेशी तोकिएको हो।
यसअघि प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठसहितको पूर्ण इजलासमा पेशी तोकिएको थियो। तर, आधा बहसपछि प्रधानन्यायाधीश श्रेष्ठले आफूले हेर्न नमिल्ने भन्दै सरेको थियो। असोज २५ गते सुनुवाइ हुँदै आदेश हुने भनेर इजलासबाट तोकिए पनि हेर्न नमिल्ने भएपछि सरेको थियो। इजलासले नै मगलबारका लागि पेशी तोकेको थियो।
दशैं बिदा हुनुअघि प्रधानन्यायाधीश श्रेष्ठ तथा न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासले गरेको आदेशअनुसार रिगलको मुद्दामा आज नयाँ पेशी तोकिएको हो। तर, निवेदक भारती शेर्पाका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले अघिल्लो पूर्ण इजलासका तीन न्यायाधीशका अतिरिक्त वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र प्रकाश ढुंगानाले पनि यही प्रकृतिको मुद्दा छिनेका हुनाले उनीहरूको इजलासमा परे मुद्दा फेरि हेर्न नमिल्नेमा सर्ने सक्ने संकेत गरेका छन्। मुद्दा हेर्न कि नहेर्ने निर्णय न्यायाधीशहरुको विवेकमा भर पर्ने उनको तर्क छ।
रिगलले २०७२ असार २८ मा नेपालगन्जका चेतन मानन्धरलाई खुँडाले हानी हत्या गरेका थिए। उनलाई जिल्ला, उच्च र सर्वोच्च तीनै तहको अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। घटनामा संलग्न छबिलाल बस्नेत, प्रशान्त भन्ने प्रेमध्वज खत्री, मोहनलाल खड्का र नवराज खत्रीलाई जन्मकैद, सोहनसिंह ढकाललाई १० वर्ष, दीपेन्द्र मल्ललाई ५ वर्ष तथा हरि वली, यामबहादुर बुढामगर, मनिष चौलागाईं, विवाद पाठक, केशव रोकाय, माधव परियार, प्रितम थापालाई ३/३ वर्ष कैद सजाय भएको थियो।
जघन्य अपराधमा सजाय पाएका व्यक्तिको ६० प्रतिशत कैद मिनाहा गर्ने राष्ट्रपतिको कदमले संविधान र विधिको शासनको धज्जी उडेको भन्दै चेतन पत्नी भारतीले कसुरदारलाई पुनः कैद गरिपाऊँ भनी रिट दायर गरेकी थिइन्।
उक्त रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश मनोज शर्माको इजलासले असोज १९ मा प्रारम्भिक सुनुवाइ गर्दै असोज २५ देखि पूर्ण इजलास गठन गरी निरन्तर सुनुवाइ गरेर मुद्दाको शीघ्र टुंगो लगाउनु भनेर आदेश गरेको थियो। त्यसअनुरूप असोज २५ मा प्रधानन्यायाधीश श्रेष्ठसहितको इजलासमा मुद्दाको पेशी चढेर त्यसमाथि प्रारम्भिक बहस पनि भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।