आम्टर्डम– फिफा विश्वकप २०१८ मा स्थान बनाउन नसकेपछि नेदरल्यान्ड्सका कप्तान अर्जेन रोबेनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्।
युरोप छनोटको समूह 'ए' मा नेदरल्यान्ड्स तेस्रो स्थानमा सीमित बनेको थियो। यो समूहबाट फ्रान्सले विश्वकपमा लागि स्थान पक्का गर्दा स्विडेन प्ले अफमा छनोट भयो। स्विडेनलाई २–० गोलले पराजित गरेपनि नेदरल्यान्ड्स विश्वकपबाट बाहिरिएको हो।
नेदरल्यान्डका लागि अर्जेन रोबिनले १६ मिनेटमा पेनाल्टीमार्फ र ४० मिनेटमा गरी दुई गोल गरे। समूहमा फ्रान्सले २३ अंक जोड्यो। नेदरल्यान्ड्स र स्विडेनले समान १९–१९ अंक बटुले । गोलअन्तरमा नेदरल्यान्डढ्सलाई पछि पारेर स्विडेन प्ले अफमा छानियो।
विश्वकपमा छनोट हुन नसकेपछि जर्मन क्लब बार्यन म्युनिखका फरवार्ड रोबेनले भने, 'सन्न्यास लिनु मेरो लागि कठोर निर्णय हो। ३३ वर्षको भइसके। अब म क्लबका लागि केन्द्रित हुन चाहान्छु।'
अप्रिल २००३ मा राष्ट्रिय टिममा डेब्यु गरेका रोबेनले देशका लागि ९६ खेल खेल्दै ३७ गोल गरे। सन् २००६, २०१० र २०१४ को विश्वकप खेलेका रोबेनले तीनै विश्वकपमा गोल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।