काठमाडौं– ११ औं महाधिवेशनबाट नेतृत्व चयनमा असन्तुष्टि जनाउँदै अध्यक्ष पदका प्रत्यासी राजेन्द्रकुमार शर्मा र महेशकुमार श्रेष्ठ लगायतले धाँधलीबाट भएको नेतृत्वलाई स्वीकार गर्न नसक्ने बताएका छन्।
शनिबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो बताएका हुन्। उनीहरुले मतपरिणाममा भएको त्रुटीबारे १५ दिनभित्र अनुसन्धान गर्ने सहमति विजयी पक्षले तोडेको बताए।
सहमति विपरित आजै शपथग्रहण गर्नुले धाँधली भएको पुष्टि हुने उनीहरुको आरोप छ। पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षका उम्मेदवार शर्माले आइटी विज्ञ राखेर निर्णय गरौँला भनेर गरेका सहमति तोड्नुले नै धाँधली भएको स्पष्ट हुने बताए।
उनले धाँधली नभएको भए रातारात शपथ खानुपर्ने अवस्था नरहेको बताए। उनले गैर आवासीय नेपाली संघ निष्पक्ष, साझा र सबल हुनुपर्ने बताए।
उनले भने, ‘आइटी विज्ञ राखेर निर्णय गरौँला भन्नुभएको थियो, त्यो नभइसकेपछि उहाँहरुले धाँधली गरेर जितेको स्पष्ट हुन्छ। आजै शपथ खानुपर्ने र दुई हप्तापछि खानुपर्नेमा मलाई लाग्दैन दुई हप्तामा ठूलै पहाड पल्टिन्छ। धाँधली नभएको भए रातारात शपथ खानुपर्ने थिएन। उहाँहरु सच्चा हुनुहुँदो रहेनछ। गैर आवासीय नेपाली संघ निष्पक्ष हुनुपर्छ, साझा हुनुपर्छ। सबल हुनुपर्छ।’
अध्यक्षका अर्का प्रत्यासी महेशकुमार श्रेष्ठले सीमित समूहलाई आधिकारिकता दिन हतारमा शपथ ग्रहण गरेको आरोप लगाए। उनले सीमित समूहले केही पनि गर्न नसक्ने भन्दै उनले गैर आवासीय संघ झनै नराम्रो भएको बताए।
उनले भने, ‘उहाँहरुले सीमित समूहलाई आधिकारिकता दिन गर्नुभएको प्रयत्न हो। यो सामाजिक संस्थामा सबैलाई समेट्नुपर्छ। त्यो प्रयत्न उहाँहरुले गर्नुपर्दथ्यो। सीमित समूहले के गर्न खोज्नुभएको हो? अध्यक्ष भएर पनि के गर्न सक्नुहुन्छ? यसले नराम्रो असर पर्छ। यसैपनि अविश्वास थियो। अहिले झनै नराम्रो भएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।