मकवानपुर– आन्तरिक राजस्व कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७९/८० मा ६ अर्ब ६० करोड ८८ लाख २२ हजार राजस्व असुली गरेको छ।
उक्त कार्यालयले अन्तः शुल्कतर्फ तीन अर्ब ६६ करोड २७ लाख ७९ हजार र मूल्य अभिवृद्धि करतर्फ एक अर्ब नौ करोड पाँच लाख १९ हजार सङ्कलन गरेको छ।
यसैगरी, आयकरतर्फ एक अर्ब १० करोड ६५ लाख ४७ हजार राजस्व असुली भएको छ भने दुई करोड ५१ लाख ६१ हजार बहाल कार, ब्याज करमा ६ करोड ३५ हजार, स्वास्थ्य सेवा करमा ६६ करोड ४० लाख ७५ हजार र शिक्षा सेवाकरबापत सात हजार मात्र असुली गरिएको सो कार्यालयले जनाएको छ।
अघिल्लो आव २०७८/७९ को तुलनामा यसवर्ष २०७९/८० मा वार्षिक लक्ष्यभन्दा ३३ करोड १४ लाख ४० हजार राजस्व थप सङ्कलनमा वृद्धि भएको आन्तरिक राजस्व कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईले जानकारी दिए।
उनका अनुसार, संकलित राजस्वमध्ये हेटौंडा औद्योगिक क्षेत्रका विभिन्न उद्योग, शिवम् सिमेन्ट, रिद्धिसिद्धि सिमेन्ट उद्योग, विभिन्न निर्माण आयोजना र व्यापारीबाट राजस्व संकलनमा उल्लेखनीय सुधार भई राजस्व असुलीमा निकै तीव्रता ल्याइएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।