काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८४ को निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने बताएका छन्। बिहीबार नेपाल प्रेस युनियन काठमाडौंले आयोजना गरेको दशैं शुभकामना कार्यक्रममा सम्बोधन गर्दै थापाले गठबन्धन गरिए कांग्रेस एक नरहने चेतावनी पनि दिए।
'२०८४ मा त हामी गठबन्धनमा जाँदै जाँदैनौँ। कसैले कल्पना नै नगरे हुन्छ। गठबन्धन गरेर जान्छु भन्यो भने त्यो बेला नेपाली कांग्रेस पार्टी एक रहने कुराको कल्पना नगरे पनि हुन्छ। एकदम क्लियर कुरा छ। यसमा कहीँ अलमल छैन। हामी जाँदैनौँ। एक्लै जान्छौँ, उनले भने।
थापा २०७९ को निर्वाचनअघि पनि गठबन्धनको विपक्षमा थिए। तर पार्टीको निर्णय भन्दै उनले गठबन्धनलाई स्वीकारको दोहोर्याए।
थापाले निर्वाचनअघि नै गरिने गठनबन्धनले प्रकारान्तरमा लोकतन्त्रको संस्कृतिलाई विकृत बनाउने बताए। 'त्यसले गर्दा हाम्रो लोकतन्त्रले बोक्नुपर्ने विशेषता नै बोक्न सक्दैन। यसले तल जरासम्म कुहाउँछ। रणनीतिक कुराले फाइदा बेफाइदा हुन सक्ने भए पनि निर्वाचनअघि गठबन्धन गर्ने कुरा सैद्धान्तिक हिसाबले भने गलत छ', उनले भने।
थापाले आफूहरूले फागुन १ मा दिइने जनयुद्ध दिवस नमान्ने पनि बताए। उनको भनाइ छ, 'यो सरकारको प्रधानमन्त्री माओवादी केन्द्रका नेता प्रचण्ड हुनुहुन्छ। यो सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवस मनाउँछौँ भनेर बिदा दिन्छु भन्यो भने कांग्रेसले हामी गठबन्धनमा छौँ भनेर स्वीकार गर्न सक्छ? सक्दैन। किनभने हाम्रा लागि त्यो रणनीतिक विषय होइन, सैद्धान्तिक विषय हुन्छ। किनभने हामी फागुन १ लाई दिवसको रुपमा मान्दैनौँ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।