काठमाडौं– नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले केन्द्रीय सत्ता गठबन्धनले संघीयतालाई नै चुनौती दिनेगरी उम्मेदवारको निर्णय गरेपछि आफूहरुले रन्थिनिएर केदार कार्कीलाई समर्थन गरेको बताएका छन्।
प्रदेश सभामा विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले प्रस्ताव राखेपछि बोल्दै उनले यस्तो दाबी गरे। ‘कुनै पनि सरकारलाई संविधानको धारा १६८को उपधारा ५ मा पुग्न नदिऊँ भनेर मैले विगतमै भनेको हो,’ उनले भने, ‘तर तत्कालीन समयमा कसैले सुनेन। जसले गर्दा अहिले हामी ५ को सरकारमाथि छलफल गरिरहेका छौं।’
उनले आफूले नेपाली कांग्रेस, माओवादीसँग पनि मिलेर सरकार बनाउन अनुरोध गरेको पनि बताए। पटक–पटक केन्द्रसम्म पनि कुरा गरेको तर कसैबाट पनि सकारात्मक जवाफ नपाएपछि राजीनामा दिएको उनले बताए।
उनले यसमा विश्वासको वातावरण बनोस् भनेर नै आफूले राजीनामा दिएको बताए। उनले नेपाली जनताको चाहना निर्वाचन नभएकोले यसलाई रोक्न आफूले चाहेको उनले बताए।
आफू निर्वाचनसँग भागेको नभई अहिलेको आर्थिक अवस्थादेखि संविधान नै खतरामा पर्ला भनेर यसो गरेको उनले बताए। उनले कांग्रेस र माओवादीको संस्थापन तयार नभएका कारण आफूले घोषणा नै गरेर को आउनुहुन्छ भनेर सहयोग गर्ने बताएको उल्लेख गरे।
केन्द्रीय गठबन्धनले संघीयता उल्लंघन गर्नेगरी निर्णय गरेपछि केदार कार्कीलाई निकास र विकल्प खोज्दा कांग्रेसका जिम्मेवार नेताहरु आएपछि सहयोग गरेको उनले बताए। उनले आफूहरुले केही गल्ती गरेको छ भनी हरेकले प्रश्न गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।