काठमाडौं– नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेशमा अब सरकार कसको बनाउने भन्ने ‘म्युजिकल चेयर’को खेल अन्त्य भएको टिप्पणी गरेका छन्।
नेपाली कांग्रेसबाट विद्रोह गरेर एमालेको सर्मथनमा मुख्यमन्त्री बनेका केदार कार्कीलाई विश्वासको मत दिने भन्दै उनले अब एमालेले पनि प्रगतिको बाटोमा सरकारलाई सहयोग गर्नुपर्ने बताए।
‘निष्कर्ष सही हुन पनि सक्छ गलत हुन पनि सक्छ। हामीले कोशी प्रदेशमा समस्याको रुपमा जहिले पनि सरकार निर्माणमा मात्र केन्द्रित भयौं र गम्भीरताका साथ लियौं,’ उनले भने, ‘कसको सरकार बनाउने र कसरी बहुमत पुर्याउने भन्नेमा केन्द्रित भयौं। तर प्रदेशको प्रमुख विषय यो होइन रहेछ, समाधान नै मुख्यकुरा रहेछ।’
उनले हिम्मत गरेर प्रदेशमा सर्वदलीय सरकार बनाउन र प्रदेशलाई मिलाएर अघि बढाउनुपर्ने उनले बताए। उनले बजेट अध्यादेशमार्फत् ल्याउने खेल अन्त्य गरेर सहमतिबाट पास गरेर निकास दिन उनले आग्रह गरे।
‘हामी त्यसमा गएनौं। अहिलेसम्म सबै विषय समाधानसँग जोडिएको रहेछ तर त्यस गएनौं,’ उनले भने, ‘केदार कार्की एमालेको समर्थन गरेर मुख्यमन्त्री बन्दै गर्दा हामी समाधानमा गएका छौं जस्तो लाग्गेको छ। यो कोशीको सरकार बनाउने म्युजिकल चेयर अन्त्य भएको जस्तो छ।’
उनले यो प्रदेशलाई मध्यावधिबाट जान अब यो सरकारले रोक्ने पनि आफूलाई विश्वास रहेको उनले बताए। ‘नेपाली कांग्रेस समग्र नेकपा एमालेलाई आग्रह गर्छ। यो सरकारलाई सदैव साथ दिने कुरामा लागौं। यो प्रदेशलाई अब प्रगतिको बाटोमा अघि बढाउने भन्ने कुरा अघि बढाउन चाहान्छौं,’ उनले भने, ‘हाम्रो दलबाट आठ सांसदले मुख्यमन्त्री बन्ने कुरा दलभित्र झगडा गर्नुभयो, कुण्ठा गर्नुभयो अनि युद्धमा गएर जितेर आउनु भएको छ। यो हामीले स्वीकार गरेका छौं।’
उनले अघि भने, ‘युद्ध जितेर आएपछि अब अरु कुरा रहेन। सबै कुरा हामीले बिर्सेका छौं,’ उनले भने, ‘मुख्यमन्त्रीलाई गठवन्धनका तर्फवाट विश्वासको मत दिएका छौं। आठ जनासँग गलामा होइन गाला पनि जोडेका हौं। यो हामीले एमालेबाटै सिकेका हौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।