काठमाडौं– फिल्म क्षेत्रमा वितरकलाई हल सञ्चालक र निर्माताबीचको सेतुका रुपमा लिइन्छ। जब निर्माताले फिल्म निर्माण गर्छ, उसलाई आफ्नो फिल्म प्रदर्शन गर्नुपर्ने हुन्छ। निर्माताले निर्माण गरेको फिल्म सम्झौताअनुरुप हलहरुमा प्रदर्शन गर्न वितरकले सहयोग पुर्याउँछ।
नेपाली फिल्मको इतिहासभन्दा पुरानो छ, फिल्म वितरणको इतिहास।
नेपालमा हलहरुको सुरूवात नै हिन्दी फिल्मको प्रदर्शनबाट भएको थियो। २६ मङ्सिर २००६ मा उद्घाटन भएको नेपालको पहिलो हल काठमाडौं सिनेमा भवन (जनसेवा हल)मा हिन्दी फिल्म ‘रामविवाह’ देखाइएको थियो। यो हल तत्कालीन सरकारले स्थापना गरेको थियो।
हल सञ्चालन भएदेखि नै धार्मिक र ऐतिहासिक हिन्दी फिल्म देखाउन थालिएको त्यतिबेलाका दृष्टान्तबाट पाउन सकिन्छ। ०९ मा स्थापित जय नेपाल सिनेमा हलमा सुरूवाती समयमा धार्मिक हिन्दी फिल्म प्रदर्शन हुन्थे।फिल्म प्रदर्शनका लागि त्यतिबेला भारतबाट फिल्म किनेर नेपाल ल्याउनुर्थ्यो।
०१३ सालमा नेपाल चलचित्र सङ्घको स्थापनापछि फिल्म निर्माण, वितरण र प्रदर्शन व्यावसायिक तवरले सुरू भएको पाइन्छ। त्यतिबेला निर्माण, वितरण र प्रदर्शनको प्रतिनिधित्व गरेर गरेर छातासङ्गठन नेपाल चलचित्र सङ्घ स्थापना भएको थियो।
नेपाली फिल्महरुको निर्माण हुने क्रम बढेसँगै वितरकहरुको जिम्मेवारी हिन्दी फिल्म वितरण गर्ने मात्र रहेन।उनीहरुले व्यावसायिक रुपमा नेपाली फिल्मको वितरणमा पनि हात हाले।
अङ्ग्रेजी फिल्मको वितरण भने नेपालमा निकै पछि मात्र भयो।नेपालमा अङ्ग्रेजी फिल्मसन् २००२अघि हलमा चलाउने कानुनी प्रावधान थिएन। ‘नेपालमा कानुनी रुपमा भने सन् २००२देखि स्पाइडर म्यानबाट अङ्ग्रेजी फिल्म चलाउन सुरू गर्यौं,’ हल सञ्चालक नकिम उद्दिन भन्छन्।
को हुन् वितरक?
निर्माताहरुलाई फिल्म कसरी रिलिज गर्ने, कति सो पाउने भन्नेबारे थाहा हुँदैन। ‘त्यतिबेला उसलाई सहज बनाएर हलसम्म फिल्म पुर्याउने वातारवण वितरकले गर्छ,’फिल्म वितरक गोपाल कायस्थ भन्छन्।
अर्का वितरक गोविन्द शाहीका अनुसार फिल्म बनाएपछि त्यसलाई हलसम्म पुर्याउने, निर्मातालाई सजिलो बनाइदिने, रिलिज गर्न सल्लाह सुझाव दिने, हलमा समयमा बिल पठाउने र पैसा उठाउनेलगायत काम वितरकको हो।‘निर्माता हलवालासम्म पुग्नुपर्दैन।
हलवालाको समस्या निर्माता र निर्माताको समस्या हलवालासम्म पुर्याउने काम पनि वितरककले गर्छ,’ उनी भन्छन्। फिल्म वितरण गरेबापत वितरकले १० देखि १५ प्रतिशत कमिसन लिने उनी बताउँछन्।
फिल्म क्षेत्रमा वितरकको महङ्खवपूर्ण भूमिका रहेको कलाकार तथा निर्माता दीपकराज गिरीको भनाइ छ। वितरक नहुने हो भने नेपाली दर्शकहरुले राम्रा विदेशी फिल्म हलमा हेर्नबाट छुटाउने उनी बताउँछन्। ‘वितरक भएन भने विदेशी फिल्म दर्शकले हेर्न पाउँदैनन्। विदेशी फिल्मलाई महँगो रकम लगाएर जोखिम मोलेर नेपाल भित्र्यायाउँछन् वितरक। चलेन भने डुब्न पनि सक्छ। अर्कोचाहिँ निर्माताले गर्न नभ्याएको समन्वय उनीहरुले गर्छन्। विभिन्न हलमा सिनेमा पुर्याएर पैसा उठाएर निर्मातालाई दिनेसम्म काम गर्छन्,’ दीपक भन्छन्।
कसरी आउँछन् वितरक?
नेपालमा फिल्म वितरक सीमित सङ्ख्यामा छन्।त्यसमध्ये अहिलेको व्यस्त वितरकमध्ये पर्छन् करण श्रेष्ठ।
उनी दशकअघि ‘हिरो’ बन्न सिन्धुपाल्चोकबाट काठमाडौं उक्लिए। उनले थुप्रै फिल्ममा अभिनेता र खलनायक चरित्र निर्वाह गरे। त्यसपछि पहिलो पटक ०६९ सालमाफिल्म ‘ओम’ निर्माण गरे। उनले फिल्म प्रदर्शनका लागि जुन वितरकलाई जिम्मा दिए, ती वितरकले अर्को फिल्मसँग प्रदर्शन मिति जुधाए। फिल्मले कमजोर व्यापार गर्यो।
०७० सालमा उनले दोस्रो फिल्म ‘जन्जिर’ निर्माण गरे। त्यतिबेला करणले फिल्मको वितरण आफैंले गर्ने निर्णय गरे।‘वितरककै कारण सास्ती खेपेपछि दोस्रो फिल्मबाट आफैं वितरक बन्ने निर्णय गरें,’ करण भन्छन्।
अभिनेता हुँदै निर्माता बनेका करण एकाएक वितरणमा होमिएका थिए। वितरणबारे राम्रो ज्ञान नबटुलीकनै यसमा होमिएका उनले पाँच वर्षसम्म चल्तीका ब्यानरका फिल्म पाएनन्।०७५सालमा उनलाई अभिनेत्री तथा निर्माता रेखा थापाले फिल्म ‘मालिका’को वितरण जिम्मा दिइन्। त्यसयता उनी निरन्तर फिल्म वितरणमा सक्रिय छन्।
उनको कम्पनी ‘रिच इन्टरटेन्टमेन्ट प्रालि’ले दुई सयभन्दा बढी फिल्म वितरण गरिसकेको छ।
करणजस्तै फिल्म वितरक गोविन्द शाही पनि पचासको दशकतिर मोडलिङमा सक्रिय थिए। फिल्म क्षेत्रमा राम्रो सम्पर्क बनाइसकेका उनले आफैंले फिल्म निर्माणकोसोच बनाए र ०५९ सालतिरफिल्म ‘कहाँ छौ कहाँ’को निर्माण गरे। आफ्नै फिल्मबाट उनले वितरण पनि सुरू गरे।त्यसयता निरन्तर फिल्म वितरण गरेका गोविन्द अहिले वितरकका रुपमा परिचित छन्। उनले पाँच सयभन्दा बढी फिल्म वितरण गरिसकेका छन्।
गोपाल कायस्थले फिल्म वितरण गर्न थालेकै ४१ वर्ष भयो।०३९ सालमा फिल्म ‘जीवनरेखा’बाट उनले वितरण सुरू गरेका थिए। त्यतिबेला फिल्मको प्रिन्ट बोकेर उपत्यकाबाहिर जाँदा ‘ज्वाइँ’लाई जसरी सम्मान दिएको सम्झना उनमा ताजै छ।‘सिनेमा कम बन्थे। हलवालाहरु मेरो हलमा फिल्म चाहियो भनेर हानाथाप गर्थे।अन्य सहरहरुमा जाँदा वितरकलाई ज्वाइँलाई जसरी सम्मान दिइन्थ्यो,’गोपाली सुरूवाती दिन सम्झन्छन्।
विभिन्न समयमा फिल्म वितरण कर्ममा होमिएका वितरकसँग बेग्लाबेग्लै अनुभव छन्। उसो त नेपाली फिल्म क्षेत्रले प्राविधिक रुपमा फड्को मार्नुअघि र त्यसपछिको अवस्थामा निकै भिन्नता छ।गोपालले यी दुवै चरण भोगेका छन्।
सुरूवाती दिनतर्फ फर्कंदा गोपाल कोलककाता, बम्बई र बिहारबाट फिल्म लिएर आउँदाका दृश्य सम्झन्छन्।
इन्डियाबाट हिन्दी फिल्म ल्याउँदा ठगिने सम्भावना अत्यधिक रहेको अनुभव गोपालसँग छ। ‘बम्बईबाट पटना र पटनाबाट नेपाल ल्याइन्थ्यो। पैसाको बिटो बोकेर जानुपर्थ्यो। त्यसरी जाँदा चोरी र डाका लाग्ने डर निकै हुन्थ्यो,’ उनी सम्झिन्छन्।
गोपालको सम्झनामा०३६ सालबाट नेपाली फिल्म निर्माणको सङ्ख्या बढ्दै गएको हो।०३६ सालमा प्रकाश थापाको फिल्म ‘सिन्दूर’ प्रदर्शन हुँदा दर्शकहरुको भीड थामिनसक्नु देखेका थिए उनले।‘सिन्दूर चल्दा पाटनस्थित अशोक सिनेमाको हलमा दर्शकको चाप बढेर ढोकै फुट्यो। हल तीनदिनसम्म बन्द भयो,’उनी सम्झन्छन्।
प्रविधिको सास्तीदेखि डिजिटल युगसम्म
साढे दुई दशकअगाडि मनोज राठीले नेपाली फिल्म ‘सिमाना’बाट फिल्म वितरण सुरू गरेका थिए।त्यतिबेला एउटै फिल्म चलाउन पनि दुई/तीन वर्ष लाग्ने उनको अनुभव थियो।‘एउटै प्रिन्ट बोकेर धेरै ठाउँ लैजानुपथ्र्यो।त्यो बिग्रियो भने बर्बाद हुन्थ्यो।जोखिम धेरै थियो,’ राठी भन्छन्।
गोविन्द शाहीलाई ती दिन ताजा छन्, जतिबेला नेगेटिभ धुलाउनुपथ्र्यो।खिचेको फिल्म धुलाउन रेलमार्फत इन्डिया पठाउनुपर्थ्यो।धुलाएर फेरि नेपाल ल्याउनुपथ्र्यो।थोरै गल्ती भए फिल्म नै सकिन्थ्यो।सारा लगानी डुब्थ्यो।कहिलेकाहीँ रिलमा आइपुग्दा बिग्रेर पनि आउँथे। त्यतिबेला क्यारिङ सिस्टम थियो। ‘क्यारिङ तीन/चारओटा हुन्थे। पहिला काठमाडौं भ्याली सकेर मात्र बाहिर लगिन्थ्यो। कहिले फिल्म जुध्दा काठमाडौंबाहिर जान्थ्यौैं, त्यसपछि काठमाडौं आउँथ्यौं,’ गोविन्द भन्छन्, ‘क्यारिङ स्ट्यानबाई हुन्थे। एउटा हलमा फिल्म सकिन लाग्यो भने कुदेर अर्को हलमा जानुपथ्र्यो।’
उनका अनुसार एउटा फिल्म पूरा हुन पाँच/सात महिना लाग्थ्यो।
सन् २००८मा भूषण दाहालनिर्देशित फिल्म ‘कागबेनी र आलोक नेम्वाङनिर्देशित ‘सानो संसार’ निर्माण प्रदर्शनसँगै नेपाली फिल्मले ‘डिजिटल यात्रा’मा नयाँ मोड लियो।यसले फिल्म क्षेत्रसँगै वितरणलाई पनि थप व्यवस्थित बनायो।
‘अहिले राम्रो फिल्म १सयभन्दा बढी हलमा एकैपटक चल्छ। पहिले जस्तो प्रिन्ट चाहिन्न।सबै इन्टरनेटबाट जान्छ,’ उनी भन्छन्। बक्स अफिसको स्थापनापछि हिसाबकिताब पनि पारदर्शी भएको उनी बताउँछन्।
फिल्मको वितरण क्षेत्र अहिलेझन्झन् फराकिलो बन्दै गएको छ। अहिले नेपाली फिल्म नेपालमा मात्र होइन, विभिन्न देशमा वितरण हुन्छन्। जस्तो कि दीपेन्द्र के खनाल निर्देशित ‘पशुपतिप्रसाद–२ भष्मे डन’ आगामी फूलपातीमा नेपालसहित विश्वभरका धेरै देशमा एकैसाथ रिलिज हुनेछ। वितरक संस्थासेभेन सिज प्रालिका अनुसारअमेरिका, युके, अस्ट्रेलिया, क्यानडा, जापान, भारत, दक्षिण कोरिया, मलेसिया, इराक, हङकङलगायत थुप्रै देश फिल्म प्रदर्शन हुनेछ।गतवर्ष प्रदर्शनमा आएको सन्तोष सेन र छेतेन गुरूङ निर्देशित फिल्म ‘प्रेम गीत–३’ नेपालसँगै भारतका हलमा पनि प्रदर्शन भएको थियो। त्यहाँका वितरक संस्थाहरुले भारतमा प्रदर्शनका लागि सहकार्य गरेका थिए।
यसर्थ पछिल्लो समय नेपाली फिल्महरु विश्वका विभिन्न देशमा प्रदर्शन हुनु सुखद पक्ष हो।
निर्माताले झेल्नुपरेको वितरक
फिल्म प्रदर्शनकाबेला निर्मातालाई वितरकको आवश्यक पर्छ। के निर्माताहरुले वितरकहरुमाथि गरेको अपेक्षा पूरा भएको छ?
कतिपय निर्माताका कुरा सुन्दा उनीहरु वितरकसँग सन्तुष्ट देखिन्ननन्।नेपालमा वितरकहरुले जिम्मेवारी लिएको फिल्ममाथि कहिलेकाहीँ न्याय गरेको पनि पाइन्न।
०७९ भदौबाट हिन्दी फिल्म ‘ब्रह्मास्त्र’ सेन्सर नहुँदा फिल्म ‘ऐना झ्यालको पुतली’को सो टाइम समयमै खुलेन।यसको नोक्सानी फिल्मले प्रदर्शनको क्रममा बेहोर्यो। उसो त विदेशी फिल्मकै कारण नेपाली फिल्मले हलहरुमा सो पनि कम पाएको थियो। फिल्मका निर्माता रामकृष्ण पोखरेलका अनुसार उनीहरुको फिल्मको वितरण जुन वितरक संस्थाले गरेको थियो, ‘ब्रह्मास्त्र’ पनि उसैले ल्याएको थियो। त्यतिबेला आफू पार्टनर भएको कम्पनी स्टेसन फाइभले नेपाली फिल्म ‘ऐना झ्यालको पुतली’लाई न्याय नगरेको भन्दै निश्चल बस्नेतले बाहिरिने निर्णय गरेका थिए।
यस्ता घटना फिल्म क्षेत्रमा थुप्रै पटक दोहोरिरहन्छन्।
निर्माता र वितरकबीचको द्वन्द्व फिल्म फिल्म प्रदर्शनका बेला सतहमा देखिने पनि गर्छन्। एउटै वितरकले दुई फिल्म एकै समयमा जुधाएको निर्माताहरुको गुनासो हुन्छ। अर्कोचाहिँ आफ्नो फिल्मले पर्याप्त र अनुकूल समयमा सो नपाउँदा निर्माताहरु वितरकसँग असन्तुष्ट हुन्छन्।
निर्माता रवीन्द्रसिंह बानियाँ नेपालमा वितरकहरुव्यावसायिक र इमानदार हुन नसकेको तर्क गर्छन्। उनका अनुसार वितरकलाई निर्माताले सुरूमै पैसा दिएको हुन्छ। वितरकले योजना बनाएर धेरै कुराको डिजाइन गर्नुपर्छ। तर वितरकहरुले जिम्मेवारी बहन नगरिदिने समस्या निर्माताहरुले भोग्नुपरेको अनुभव उनीसँग छ।
‘बाहिरतिरका वितरकले त आफ्नै फिल्म मानेरयोजना बनाउँछन्। र लगानी गर्छन्। यहाँ त वितरकलाई सुरूमै पैसा दिइएको हुन्छ। तर हामीले बनाएको सामग्री ठाउँमा पनि समयमा पुर्याउँदैनन्। यहाँ त घाटेलाई लास पोलेजस्तो भएको छ। निर्माताले त्यत्रो लगानी गरेको हुन्छ। वितरकहरुमा कुनै संवेदना देखिन्न,’बानियाँ भन्छन्।
परिणाममुखी वितरक नभएका कारण आफूले पनि त्यो अनुभव भोगेको उनी बताउँछन्। वितरकहरुको काममा निर्माता हरेक पाइलामा सचेत हुनुपर्ने रवीन्द्रको ठहर छ। भन्छन्, ‘फिल्म चल्नेबेला निर्माताभावनात्मक रुपमा कमजोर हुन्छ। त्यही इमोस्नल्ली कमजोर भएका बेला वितरकले खेल्ने गर्छन्। वितरकले वास्तविक डाटा नदिईगलत दिने र गलत तरिकाले व्याख्या गर्ने गर्छन्। यस्तो बेलामा निर्माता सचेत हुनुपर्छ।’
उनका अनुसार निर्माताले फिल्म बनाएर सबै जिम्मा वितरकको हातमा सुम्पेपछि सो बढ्ने अपेक्षा स्वाभाविकै हुन्छ। तर फिल्ममा वितरकले स्वार्थको राजनीति गर्ने उनी बताउँछन्।‘आफूलाई फिल्म नदिएको निर्मातासँग फिल्म जुधाउने, बदला लिने। हिन्दी फिल्म र नेपाली फिल्म एकै डेटमा रिलिज गरिदिने खालका प्रवृत्ति छन्,’उनी भन्छन्।
नेपालमादुई/चार जना हलवाला चिनेकै भारमा वितरणमा होमिने वितरकका कारण समस्या निम्तिएको निर्माता रामकृष्ण पोखरेलकोभनाइ छ। उनी वितरकबाट आउनुपर्ने उपलब्धि नदेखिएको उनले जनाए। कुन हलमा कतिसो भन्ने वितरकले पहिल्यै तय गर्नपर्ने उनी बताउँछन्। तर कुनै मार्केटिङ रयोजना नहुनाले निर्माताहरु मारमा पर्ने उनको अनुभव छ।‘बाहिर वितरणबारे पढाइ हुन्छ।वर्कसप हुन्छ। हाम्रोमा पढेर आउने वितरक हुनुहुन्न।त्यसकारण व्यावसायिक पनि हुन्नन्।उनीहरुको स्टार्टिजी पनि बलियो देखिन्न।यसले गर्दा न उपलब्धि देखिन्छ,न निर्मातालाई सहज हुन्छ,’उनी भन्छन्।
निर्देशक निश्चल बस्नेत पनि नेपालमा फिल्म वितरण बलियो नभएको बताउँछन्।‘उहाँहरुले गर्नुपर्ने काम डिफाइन छैन। यहाँ निर्माता र वितरकअनुसारको सहमतिमा हुन्छ। तर फर्मल सङ्गठन छैन। बाहिरका वितरक पावरफुल हुन्छन्।नेपालमा साङ्गठनिकता छैन,’उनी भन्छन्।
फिल्म विचरक करण श्रेष्ठ नै यो कुरा स्वीकार्छन्। वितरककै कारण फिल्म क्षेत्र अघि नबढेको गुनासो पनि उनीसँग छ। ‘वितरकहरुमा नयाँ योजना हुनुपर्छ। त्यो देखिन्न। वितरकहरुमा एकता पनि छैन।यसले गर्दा समस्या देखिएको छ,’उनी भन्छन्, ‘मैले एकताका लागि सबैलाई आग्रह गरिरहेको छु।’
कलाकार तथा निर्माता दीपकराज गिरी वितरकहरुले विदेशी फिल्म ल्याएपछि चलिरहेको नेपाली फिल्मलाई उतार्न दबाब दिने प्रवृत्तिबारे चिन्ता गर्छन्।‘विदेशी फिल्म ल्याएर नेपाली फिल्मलाई मारमा पार्नु, आफ्नो फिल्म आएपछि अरु फिल्म हटाउन खोज्नु राम्रो प्रवृत्ति होइन,’दीपक भन्छन्।
यद्यपि सबै निर्मातासँग वितरकसँगको सहकार्यमा तीतो अनुभव मात्र छैन।निर्माता शर्मिला पाण्डे आफ्नो सकारात्मक अनुभव सुनाउँछिन्, ‘मैले जो वितरकसँग काम गरेको छु। उहाँले फिल्म प्रदर्शनको एकै महिनामा पैसा उठाउनुहुन्छ।फिल्मलाई सकेसम्म धेरै सो दिने प्रयत्न गर्नुभएको छ।योजनाअनुसार काम गर्नुभएको छ।’
अपजस खेपिरहेका वितरक
वितरकहरूले प्रायः भोग्नुपरेको समस्या हो, हलबाट समयमा पैसा नउठ्नु। मनोज राठी अहिले हलवालाले पैसा नदिने समस्याले आजित छन्। भन्छन्, ‘यता वितरकले निर्मातालाई पैसा दिइसक्छ। हलवालाले वितरकलाई पैसा दिइरहेको हुन्न। मेरो थुप्रै फिल्मको पैसा अहिलेसम्म उठेको छैन।’
करणको पनि केही फिल्मको पैसा हलबाट उठ्न बाँकी छ।‘मैले वितरण गरेका कतिपय फिल्मको पैसा निर्मातालाई दिइसकें। तर हलबाट अझै उठ्न बाँकी छ,’करण भन्छन्। अरु वितरकको पनि यो साझा समस्या हो।
योसँगै वितरक निर्माताबाट अपजस खेप्नुपरेको गुनासो पनि गर्छन्।वितरकले फिल्म चल्दा जस नपाउने तर फिल्म नचल्दा अपजस मात्र भोग्नुपर्ने विरतक गोविन्द शाही बताउँछन्। भन्छन्, ‘फिल्म चल्यो भने फिल्म राम्रो थियो भन्ने हुन्छ। वितरकको नाम आउँदैन। फिल्म चलेन भने वितरकले राम्रोसँग समन्वय गरेन भन्ने कुरा आउँछ। तर त्यस्तो होइन।’
फिल्मको सो बढाउने कुरामा ‘कन्टेन्ट’ नै बलियो हुनुपर्ने उनको तर्क छ।‘फिल्मको हाइप नै छैन। हलमा आएर कसरी हुन्छ ?राम्रो मेकरले बनाएको फिल्मले राम्रै सो पाएको हुन्छ। चल्दै नचलेको त उत्रिहाल्छ,’उनी भन्छन्।
करण फिल्म जुध्नु वा कम सो पाउने कुरा भने वितरकको हातमा नरहेको बताउँछन्। ‘हलवालाले पनि आफ्नो व्यवसाय हेर्ने हुन्।उनीहरुले कुन फिल्म चल्छ, कुन चल्दैन भनेर अध्ययन गरेर बसेका हुन्छन्। जुन फिल्म चल्छ त्यो फिल्मको सो बढाउनु स्वाभाविक हो। फिल्म उत्कृष्ट बन्यो भने जति पनि सो पाउँछ,’ करण भन्छन्।
वितरक गोपाल कायस्थको पनि उही तर्क छ, ‘राम्रा ब्राण्डका फिल्म आफैं चल्छन्। कमजोर फिल्महरु उत्रन्छन्।’
निर्माता र वितरकबीचको सहकार्यमा दूरी भने अवश्य देखिन्छ। वितरकले निर्माताको फिल्ममाथि र निर्माताले वितरकमाथि विश्वास नगर्दा नोक्सानी बेहोर्ने नेपाली फिल्म क्षेत्रले नै हो। वितकरहरुले वितरण प्रणालीलाई अझै व्यावसायिक, मर्यादित र विश्वसनीय बनाउन आवश्यक छ।
निर्माताले पनि फिल्म नचलेर वितरकलाई आरोप लगाउनुको साटो आफ्नै फिल्मको ‘क्वालिटी’माथि पनि ध्यान दिने हो कि!
खैर, निर्माण र वितरण संस्थाबीच राम्रो सहकार्यले उकासिने भनेको यही फिल्म उद्योग नै त हो।
(प्रस्तुत लेख नेपाल चलचित्र निर्माता संघको १७औं स्थापना दिवसको अवसरमा प्रकाशित ‘सिनेमा विशेषांक’बाट लिइएको हो । प्रभाकर गौतमले सम्पादन गरेको यो स्मारिकामा नेपाली चलचित्र क्षेत्रका इतिहास, वर्तमान र भविष्यका विविध आयम समेटिएका २७ लेख छन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।