जोमसोम– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिमालको संरक्षण गर्ने विषय नेपालको मात्र जिम्मेवारी नभएर सिंगो विश्वको साझा दायित्व भएको बताएका छन्।
बुधबार मुस्ताङको जोमसोममा राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा आयोजित जलवायु संवाद कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले हिमालको संरक्षणका विषयमा आफूले अन्तर्राष्ट्रिय मञ्चहरूमा गम्भीर रूपमा विषय राखेको बताए।
‘पछिल्लो समय नेपालले जलवायु परिवर्तनका गम्भीर समस्या भोगिरहेको छ। हिमालय क्षेत्रमा यसको गम्भीर देखिएको छ। मुस्ताङ जिल्लामा पनि गम्भीर असर देखिएको कुरा मैले प्रत्यक्ष सुन्ने अवसर प्राप्त गरेँ। मैले संयुक्त राष्ट्रसंघको महासभा, रोममा आयोजित विश्व खाद्य सम्मेलनमा यसबारे गम्भीर रूपमा कुरा राखेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने
हिमालको संरक्षण नभए विकसित भनिएका मुलुकहरु समेत सुरक्षित नहुने प्रधानमन्त्रीले उल्लेख गरे। ‘जलवायु परिवर्तनको मुद्दा नेपालको मात्र नभएर विश्वको साझा मुद्दा हो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘कोप सम्मेलनमा पनि यस विषयमा नेपालको गम्भीरपूर्वक विषय राख्नेछ। विकसित मुलुकहरूको कारण नेपाल जस्ता देशहरूले बेहोरेको क्षतिवापत हामीले अनुदान पाउनुपर्छ।’
प्रधानमन्त्री प्रचण्डले मुस्ताङ जलवायु संरक्षणलाई सरकारले प्राथमिकतामा राखेको बताए। ‘मुस्ताङ जिल्ला बहुआयमिक विशेषता बोकेको जिल्ला हो। स्याउ उत्पादन र अन्य उत्पादनका दृष्टिले पनि यो महत्वपूर्ण छ, मुक्तिनाथ लगायत धार्मिक एवं सांस्कृतिक पर्यटनका केन्द्रहरू पनि यहाँ छन्। कोरला नाकाको विशेष रणनीतिक महत्व छ। तसर्थ यहाँको जलवायु संरक्षण सरकारको प्राथमिकतामा छ,’ प्रधानमन्त्रीले भने।
जलवायु संरक्षण वापत नेपालले अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त गर्नेमध्ये ५० करोड रुपैयाँ रकम मुस्ताङ जिल्लामा पठाउने पनि प्रधानमन्त्रीले घोषणा गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।