जोमसोम– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मुस्ताङ पुगेका छन्। प्रधानमन्त्री प्रचण्ड बुधबार बिहान मुस्ताङ पुगेका हुन्।
जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरहरूबारे अध्ययन र स्थानीय जनतासँग अन्तरक्रिया गर्न प्रधानमन्त्री प्रचण्ड बुधबार बिहानै मुस्ताङ पुगेका उनको सचिवालयले जानकारी दिएको छ।
मुस्ताङ पुगेर प्रधानमन्त्री प्रचण्डले कागबेनी, मुक्तिनाथ मन्दिरको अवलोकन गरेका छन्।
मुस्ताङ भ्रमणका क्रममा प्रधानमन्त्रीले राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा आयोजित जलवायु संवादमा सम्बोधन र जनतासँग अन्तर्क्रिया गर्नेछन्।
प्रधानमन्त्री प्रचण्डले नेपाल–चीन कोरोला नाकाको समेत अवलोकन भ्रमण गर्नेछन्। उनले हालै गरेको चीन भ्रमणका क्रममा मुस्ताङको कोरलालगायत १४ वटा व्यापारिक नाका सञ्चालन गर्ने सहमति भएको थियो।
४ वर्षदेखि बन्द रहेको कोरलानाका सञ्चालनका लागि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका १ हजार जनाभन्दा बढी सर्वसाधारणलाई चीन प्रवेशका लागि अनुमतिपत्र वितरण गरिएको छ।
प्रधानमन्त्री प्रचण्डसमक्ष स्थानीयवासीले कालीगण्डकी नदीको कटान, उपल्लो मुस्ताङको पाँचवटा गाउँलाई अर्धनिषेधित क्षेत्रबाट हटाउन र जग्गासम्बन्धी समस्याबारे छलफल गर्ने कार्यक्रम तय भएको नेकपा (माओवादी केन्द्र) मुस्ताङका इन्चार्ज कपिल लामाले बताए।
प्रधानमन्त्री दाहालसँगै वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतो, गण्डकी प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री सुशीला सिंखडा, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली, प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेललगायत मुस्ताङ पुगेका छन्।
जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सहभागी भएपछि प्रधानमन्त्री दाहालले बुधबार नै जोमसोममा ‘जनतासँग माओवादी रुपान्तरण अभियान’अन्तर्गत आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।