काठमाडौं– कोशी प्रदेशमा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका केदार कार्कीलाई माओवादी केन्द्रले पनि विश्वासको मत दिने भएको छ।
सोमबार बसेको माओवादी केन्द्र प्रदेश सचिवालय बैठकले पार्टी केन्द्रीय कमिटीको सहमति लिएर विश्वासको मत दिने निर्णय गरेको हो।
माओवादी केन्द्रका एक प्रदेश सांसदका अनुसार सत्ता गठबन्धन जोगाउनका लागि विश्वासको मत दिने निर्णय गरेको हो। सत्ता गठबन्धनभित्र रहेका एकीकृत समाजवादी र नेपाली कांग्रेस तथा जसपाले पनि विश्वासको मत दिने ती सांसदले दाबी गरे।
शनिबार नेपाली काग्रेसबाट विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले बुधबार विश्वासको मत लिँदैछन्।नेपाली कांग्रेसले माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्रीको रुपमा अघि सारेको थियो।
तर प्रदेश प्रमुखले दुवै पक्षले ४७ सांसदसहित दावी पेस गरेपछि सनाखत गराएका थिए। सनाखतको समयमा नेपाली कांग्रेसका आठ सांसदहरुले मत दिँदै एमालेको सर्मथनमा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए।
मुख्यमन्त्री नियुक्त भएलगत्तै कार्कीले काठमाडौं आएर पार्टी सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर फर्केका थिए। लगत्तै उनले तीन सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका थिए।
जसमा एमालेवाट एक र नेपाली कांग्रेसबाट एक मन्त्रीले शपथ लिएका छन्। मन्त्रिपरिषद् विस्तार गर्नुअघि कार्कीले विश्वासको मत लिने तयारी गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।