काठमाडौं– उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाका सहायक रथी यमप्रसाद अधिकारीलाई भावी प्रधान सेनापति बनाउने सन्दर्भलाई जोडेर गलत प्रचार गरिएको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित पत्रकार महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उमेर र अवधिले भ्याउँदा एक पटकलाई ३ वर्ष पदावधि थप्ने सैनिक, ऐन, नियमको व्यवस्थाअनुसार मात्रै सहायक रथी अधिकारीलाई ३ वर्ष पदावधि थपिएको रक्षामन्त्री खड्काको भनाइ छ।
रक्षामन्त्री खड्काले अधिकारीलाई प्रधान सेनापति बनाउने प्रपञ्च हुँदैछ भन्नेजस्ता भ्रम नछर्न आग्रह गरे। उनले नियमावली परिमार्जन गरेर अधिकारीलाई प्रधान सेनापति बनाउने कुरा झुटो रहेको पनि बताए।
नेपाली सेनाको प्रधान सेनापति हुनका लागि निश्चित मापदण्ड रहेको खड्काले स्मरण गराए। सेनाको विधान बाहिर गएर सरकारले कुनै काम नगर्ने रक्षामन्त्री खड्काले बताए। उनले यमप्रसाद अधिकारी प्रधानसेनापति बन्ने सम्भावनाको कुरा सबै गलत भएको गरे।
उपप्रधान एवं रक्षामन्त्री खड्काले सरकार सूचना प्रविधिलाई विकास, आर्थिक रुपान्तरण, जनताको जीवनस्तरमा सुधार, लोकतन्त्र र प्रेस स्वतन्त्रताको स्वच्छन्द र सिर्जनात्मक अभ्यासमा उपयोगी बनाउनेतिर आवश्यक नीति, कानून, योजना बनाउँदै अघि बढ्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।