काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। आफ्नो निजी निवास धुम्बाराहीमा बस्ने गरी देउवाले बैठक डाकेका हुन्।
शुक्रबार दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
कोशी प्रदेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका सन्दर्भमा आवश्यक निर्णय लिन भन्दै देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्।
सत्ता गठबन्धनबीच केन्द्रीय तहमा जुटेको सहमति विपरीत कोशी प्रदेशमा कांग्रेसका केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि कांग्रेसभित्र विवाद चुलिएको छ।
गठबन्धनमा रहेका दलहरुले नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न लगाउने निर्णय गरेका थिए। तर, कार्कीले केन्द्रको निर्णयलाई चुनौती दिँदै मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।
मुख्यमन्त्रीमा दाबी पेस गरेका कार्कीलाई केन्द्रीय सदस्य तथा नेता डा शेखर कोइरालाको साथ छ। कार्कीको दाबेदारी फिर्ता गराउन भन्दै यसअघि सभापति देउवा, राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोइरालाई फोन गर्दै दबाब दिएका थिए।
राष्ट्रपति, प्रधानमन्त्री र पार्टी सभापतिको दबाब अस्वीकार गर्दै कोइरालाले कोशीमा अगाडि बढाइएको कदमबाट फिर्ता हुने अडान दिएका उनीनिकट स्रोतले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।