काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौताका सहयात्रीमा नै जनयुद्धको सन्दर्भ र शान्ति प्रक्रिया टुंग्याउने विषयमा नकारात्मक प्रवृत्ति देखा परेको बताएका छन्।
द्वन्द्व पीडित परिवारका आफन्त तथा परिवारहरूले ‘संक्रमणकालीन न्यायप्रक्रियामा पीडित केन्द्रित दृष्टिकोण र समाधानको बाटो’ विषयक राष्ट्रिय परामर्श भेला गरी निकालेको निष्कर्ष पत्र बुझ्दै प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्।
‘केही मान्छेहरू द्वन्द्वका कारण केही सीमित व्यक्ति मात्रै पिडित भएका हुन् जसरी प्रचारमा लाग्ने गरेको र विश्व समुदायलाई भ्रममा पार्न सकिन्छ कि भनेर प्रसाय गरी राखेका छन्’, उनले भने।
तर आफ्नो प्रयासले हजारौं हजार नागरिक, आम रूपमा न्याय भयो कि भएन भन्ने विश्व समुदायको ध्यान आकर्षित गरेको उनले दाबी गरे। संक्रमणकालीन न्यायप्रक्रियामा पीडित केन्द्रित दृष्टिकोण र समाधानको बाटो विषयक छलफल राखेर सहिद बेपत्ता योद्धा यातना पीडित र पीडित सदस्यहरूले लिएको पहलप्रति प्रधानमन्त्री प्रचण्डले धन्यवाद व्यक्त गरे।
उनले भने, ‘शान्ति प्रक्रिया टुंग्याउने विषयलाई पेचिलो बनाउने प्रयास भइराखेको छ। शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन निकै सकस पैदा गर्ने कोशिस भैराखेको छ। पछिल्लो समय सदनका बसह हेर्नु भएकै छ, शान्ति सम्झौताका सहयात्री नै जनयुद्धको सन्दर्भ र शान्ति प्रक्रिया टुंग्याउने विषयमा नकारात्मक प्रवृत्ति देखा परेको छ।’
विभिन्न चुनौतीकाबीच आफूले माओवादी जनयुद्धमा संलग्न र द्वन्द्वबाट पीडित बनेका सबैका समस्या समाधन र उनीहरूका पीडा पक्षविपक्ष नभनेर समाधान प्रयास गरिराखेको बताए। उनले द्वन्द्व पीडित प्रहरीका परिवारलाई पनि आफुले भेटेको जानकारी दिए।
पछिल्लो समय आफू संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदा वातावरण परिर्वतनका कारणले नेपालले भोगिरहेको समस्या र नेपालको शान्ति प्रक्रियाबारे विश्वको ध्यान जाने गरी महासभामा विषयको उठान गरेको प्रधानमन्त्रीले बताए।
उनले भने, ‘मैले नेपालको शान्ति प्रक्रिया मौलिक भएको र यसबाट विश्वले सिक्न सक्ने बताउँदै सम्बोधन गर्दा अन्तर्राष्ट्रिय रूपमा नै तरंगित भएको छ। संयुक्त राष्ट्रसंघको महासभामा नेपालको शान्ति प्रक्रियालाई गम्भीर रुपले बलियोसँग राखिएको छ। यसले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण मात्रै गरेको छैन, पुरै बधाई र धन्यवाद दिनेको ताँती नै लागेको थियो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।