काठमाडौं– फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ का लागि अहिलेसम्म २३ देशले स्थान पक्का गरिसकेका छन्। अब बाँकी ९ स्थानका लागि प्रतिस्पर्धा हुनेछ। अफ्रिका बाहेक अन्य क्षेत्रबाट छनोट भएका तथा प्ले अफ खेल्ने टिमको टुंगो लागेको छ।
युरोपबाट १० टिमले विश्वकपमा स्थान पक्का गरेका छन्। जसमा आयोजक रसियासहित स्पेन, फ्रान्स, पोर्चुगल, बेल्जियम, जर्मनी, इंग्ल्यान्ड, पोल्यान्ड, सर्बिया र आइसल्यान्ड छन्। आइसल्यान्डले पहिलो पटक स्थान बनाएको हो।
एसियाबाट इरान, दक्षिण कोरिया, जापान र साउदी अरेबिया छनोट भइसकेका छन्।
उत्तर, मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाट मेक्सिको, कोस्टारिका र पानामाले विश्वकपमा स्थान पक्का गरेका छन्। दक्षिण अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना र कोलम्बिया छनोट भए।
अफ्रिकाबाट नाइजेरिया र इजिप्टले विश्वकपमा स्थान बनाएका छन्।
अफ्रिकाबाट अब तीन टिम छनोट हुने बाँकी छ। बाँकी ६ स्थानको टुंगो प्ले अफबाट लाग्नेछ। जसमा १२ टिम छनोट भएका छन्।
प्ले अफमा एसियाबाट अस्ट्रेलिया छनोट भएको छ भने उत्तर, मध्य अमेरिका तथा क्यारेबियन क्षेत्र होन्डुरस छनियो। अस्ट्रेलिया र होन्डुरसबीच प्ले अफ हुनेछ। जित हात पार्ने टिम विश्वकपमा छानिनेछ। अर्को प्ले अफमा दक्षिण अमेरिकामा पाँचौ भएको पेरु र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ।
युरोपबाट भने ८ टिम प्ले अफमा छनोट भएका छन्। पहिलो चरणको छनोटमा समूहमा दोस्रो भएका ८ टिम प्ले अफका लागि छनोट भए। जसमा स्विट्जरल्यान्ड, इटाली, डेनमार्क, क्रोएसिया, स्विडेन, उत्तरी आयरल्यान्ड, ग्रिस र आयरल्यान्ड गणतन्त्र छन्। समूहमा दोस्रो भएको भने स्लोभाकियाले भने प्ले अफमा स्थान बनाउन सकेन। युरोपको प्ले अफबाट चार टिम छनोट हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।