काठमाडौं– नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणसहितको मुद्दामा बिहीबार पनि बहस हुन पाएन।
उच्च अदालत पाटनमा जिल्ला अदालत काठमाडौंको थुनामा पठाउने आदेशविरुद्ध विचाराधीन मुद्दामा बिहीबार उच्चले अन्य आदेश गर्दै पन्छाएको छ।
यसअघि पनि इजलासले कैफियत प्रतिवेदन मगाउने आदेश गर्दै पन्छाएको थियो। बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय गोकर्ण डाँगी र नारायणप्रसाद रेग्मीको इजलासमा परेको थियो।
सोही प्रकरणसँग जोडिएको अर्को निवेदन पनि पेस भएको र जिल्ला अदालतबाट कैफियत प्रतिवेदन पेस भएकाले त्यसलाई पनि साथै राखेर सुनुवाइ गर्ने आदेश गरेको हो।
अदालतले यस्तो आदेश गरेपछि अर्को पेसी दशैंपछि पुगेको छ। थुनामा रहेका प्रतिवादीहरुको अब दशैंअघि रिहा हुने आश समाप्त भएको छ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै एकै व्यक्तिबाट ४५ लाखसम्म लिएर ठगी र संगठित अपराध गरेको भन्दै काठमाडौं जिल्ला अदालतले पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, बहालवाला सचिव टेकनारायण पाण्डे लगायतलाई थुनामा पठाएको थियो।
काठमाडौं जिल्ला अदालतको आदेश बेरितको भएको र थुनामुक्त भएरै मुद्दा लड्न पाउनुपर्ने माग गर्दै पूर्वमन्त्री खाण, पूर्वमन्त्री रायमाझीलगायतले गत साउन १२ गते उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका थिए। यसअघि नै ४ पटक पेसीमा चढिसकेको उक्त निवेदनमा असोज २५ गते पुनः लगाएको मुद्दा साथै राख्ने आदेश भएको थियो।
पाँचौपटक पेसीमा चढेर सुनुवाइ भयो तर निवेदकले चाहे अनुसार बहस हुन सकेन। पहिलो पेसीमा कैफियत प्रतिवेदन माग गर्ने आदेश भएपछि दोस्रो पेसी निवेदकका कानुन व्यवसायीले स्थगित गराएका थिए। असोज ४ गतेको पेसी हेर्न नभ्याइनेमा परेको थियो भने असोज १८ गतेको पेसीमा न्यायाधीशले हेर्दाहेर्दैमा राख्नुपर्ने भएकाले आफूले नसक्ने भनी अन्य आदेश गरेर पन्छिएका थिए।
खाण र रायमाझीसहित नरेन्द्र केसी, टेकनारायाण पाण्डे, सानु भण्डारी, आङटावा शेर्पा, डा ईन्द्रजीत राई, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शम्शेर मियाँ, गोविन्द चौधरी, आशिष बुढाथोकी, सन्दीप रायमाझी, टेकनाथ रिजाल, केशवप्रसाद दुलाल, टंककुमार गुरुङ, सागर राई र रामशरण केसीले थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका थिए।
उनीहरूमाथि ठगी, लिखत कीर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको मुद्दा चलिरहेको छ। यो प्रकरणको अर्को पेसी अब दशैंपछिको पहिलो बिहीबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।