काठमाडौं- नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अहिले राजनीतिमा आफूलाई स्वतन्त्र भन्ने र पुराना पार्टी भनेर गाली गर्नेहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसँग जोडेर आलोचना गरेका छन्।
पार्टीद्वारा आयोजित समाजवादी जागरण अभियानका क्रममा बिहीबार टीकापुरमा सम्बोधन गर्दै उनले तिनीहरूलाई ओलीका मानसपुत्रहरू भएको आरोप लगाए।
‘आज केही स्वतन्त्र, पुराना पार्टी भनेर गाली गर्नेहरू, राजनीति विरोधीहरू, जे कुरा गर्दैछन्, यो सबै गाली गलौजहरू आज जे हुँदैछ’, उनले भने, ‘ती सबै ओलीका मानसपुत्रहरू हुन्। ओलीले जन्माएका मान्छेहरू हुन्। किनभने राजनीतिमा निन्दा भर्त्सना खुट्टा तानातानका सबैभन्दा ठूला जनक ओली नै थिए। आज त्यो स्थिति छ।’
भुसालले संविधान कार्यान्वयनका लागि बलियो राज्य चाहिने र त्यसका लागि जनताले प्रशस्त बुझाइका साथ २०७४ को निर्वाचनमा कम्युनिस्ट पार्टीलाई जिताएको भए तापनि जनताले सोचे जसरी इतिहास अगाडि नबढेको बताए।
‘इतिहासमा केही कुडाकर्कटहरू, इतिहास विरोधी, जनता विरोधी, जनताको समृद्धि विरोधी, समाजवाद विरोधी, अग्रगमन विरोधी शक्तिहरू पनि हुँदारहेछन्। त्यो बाहिर मात्रै होइन, कम्युनिस्ट पार्टीभित्र पनि त्यस्ता तत्वहरू हुँदारहेछन्। त्यति मात्र होइन, त्यस्ता तत्वहरूले विशाल, ठूलो र अग्रगामी सोच र विचार सिद्धान्त लिएर बनाइएका पार्टी पनि कब्जा गर्दिँदारहेछन्’, उनले भने।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनले मुलुकको दुर्भाग्य भएको बताए। भने, ‘दलाल पुँजीपतिहरू र बाहिरभित्रका स्वार्थहरूसँग मिलेर निजी सत्ता अभ्यासका लागि, शक्ति अभ्यासका लागि हाम्रा सारा संकल्पमाथि जब केपी ओलीले पानी खन्याए, बरफ खन्याए, त्यसपछि यो संविधान निर्माणपछिको मुलुकको दुर्भाग्य त्यहाँबाट सुरु भएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।