धनगढी– नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्ष पदका उम्मेदवार वचनबहादुर सिंहले पनि उम्मेदवारी फिर्ता लिएका छन्। कृष्णप्रसाद जैशीलाई समर्थन गर्दै उनले उम्मेदवारी फिर्ता लिएका हुन्।
उनी अध्यक्ष केपी शर्मा ओली समूहका हुन्। यसअघि ओली समूहकै कमल तिमिल्सिनाले पनि उम्मेदवारी फिर्ता लिएका थिए।
अध्यक्षमा एमाले पूर्व उपाध्यक्ष भीम रावल पक्षका भरत साउँदसहितको प्यानलको उम्मेदवारी कायमै छ। सर्वसम्मतिका पक्षमा आफूहरू पनि रहेको बताउँदै रावल समूहले दुई उपसचिवमा दाबी गरिरहेको छ।
सुदूरपश्चिम पछि परेको ठाउँ र विभेदमुक्त नभइसकेको अवस्थामा नरबहादुर विकलाई उपसचिव बनाएर समावेशी कमिटी बनाउनुपर्ने उक्त समूहका सचिवका उम्मेदवार रतनराज रेग्मीले बताएका छन्। उनले भने, ‘हाम्रो उम्मेदवारी कायम छ। यदि दलित समुदायबाट प्रतिनिधित्व गर्ने नरबहादुर विक र भागिरथी विष्टलाई उपसचिव बनाउने हो भने हामी तीन जना पछि हट्न तयार छौं।’
रावल समूहबाट अध्यक्षमा साउँद, उपाध्यक्षमा हरिसिंह साउँद, सचिवमा रेग्मी, उपसचिवमा विक र विष्टले उम्मेदवारी दिएका छन्। आफ्नै पक्षका अध्यक्षमै तीन उम्मेदवार भएपछि ओली पक्ष सर्वसम्मतिका लागि सक्रिय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।