काठमाडौं– नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अधिवेशनमा अध्यक्ष केपी शर्मा ओली भर्सेस पूर्व उपाध्यक्ष भीम रावलको स्थिति उत्पन्न भएको छ। अधिवेशनका लागि ‘निम्ता’ समेत नगरिएका रावलको प्रभावका कारण ओली पक्षको चाहनाअनुसार ‘सर्वसम्मत’ नेतृत्व चयन हुने अवस्था कमजोर बनेको छ।
सर्वसम्मत नेतृत्व चयनका लागि भन्दै मंगलबारदेखि नै निर्धारित निर्वाचनका कार्यक्रमहरु धकेलिँदै आएका छन्। बुधबार पनि बिहानसम्म उम्मेदवारी फिर्ताको समय निर्धारण गरिएको छ।
अध्यक्ष पदका लागि बचनबहादुर सिंह, कृष्ण प्रसाद जैशी, कमल तिमिल्सिना र भरत साउद उम्मेदवार छन्। अछामका भरत साउद रावल पक्षका हुन्।
रावल पक्षबाट उपाध्यक्षमा हजारी साउद, सचिवमा रतन रेग्मी, उपसचिवमा नरबहादुर विश्वकर्मा र अर्चना गहतराजको उम्मेदवारी छ।
ओली पक्षका नेताहरुले अध्यक्षमा अछामकै कृष्ण प्रसाद जैशी र सचीवमा रणबहादुर चन्दलाई सर्वसम्मत बनाउने प्रयास गरिरहेका छन्। अध्यक्षका उम्मेदवार रहेका जैशीलाई एमाले स्थायी कमिटी सदस्य कर्ण थापाको साथ छ। सचिवका उम्मेदवार चन्द अहिलेका प्रदेश अध्यक्ष दामोदर भण्डारी पक्षका हुन्।
प्रदेश सचिवमा चन्दका अतिरिक्त राजेश खाति, रतनराज रेग्मी (रावल पक्ष) र जीवन कुमार बमले उम्मेदवारी दिएका छन्।
रावल पक्षका नेताहरु मतदान हुनुपर्ने पक्षमा छन्। यसअघि पटक पटक संशोधन हुँदै आएको निर्वाचन कार्यतालिकामा पछिल्लोपटक गरिएको हेरफेरअनुसार बुधबार दिउँसो १ बजेदेखि मतदान सुरु हुने भनिएको छ। बुधबार साँझ ७ बजेसम्म मतदान सक्ने र लगत्तै मतगणना सुरु गर्ने निर्वाचन कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।