काठमाडौं– संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसको नेपाल भ्रमण स्थगित भएको छ।
असोज २६ गतेदेखि उनको नेपाल भ्रमण तय भएको थियो। आगामी शनिबार संघीय संसद्मा उनले सम्बोधन गर्ने कार्यसूचीसमेत थियो। तर इजरायल–हमास युद्धका कारण उनको नेपाल भ्रमण तत्कालका लागि स्थगित भएको हो।
अहिलेको भ्रमण स्थगित भए पनि उनको भ्रमणको अर्को मिति छिट्टै टुंगो लाग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। नयाँ मितिका लागि मन्त्रालयले गृहकार्य गरिरहेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागिता जनाउन अमेरिका जाँदा महासचिव गुटेरेसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।
उक्त निम्तो स्वीकार गर्दै गुटेरसले असोज २६ देखि २९ सम्म नेपाल भ्रमणको मिति तय भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।