धनगढी– नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको भावी नेतृत्व सर्वसम्मत रुपमा चयन गर्नका लागि सहमतिको प्रयास जारी राखिएको छ। प्रथम प्रदेश अधिवेशनअन्तर्गत आज (मंगलबार) निर्वाचन कार्यक्रम सुरु हुने भनिएकोमा सर्वसम्मत नेतृत्व चयनका लागि सहमतिको प्रयास जारी राखिएको हो।
नेकपा एमाले निर्वाचन समितिले जारी गरेको निर्वाचन कार्य तालिका अनुसार मंगलबार मनोनयन दर्ता र मतदान कार्यसूची सार्वजनिक हुने भनिए पनि यो समाचार तयार पारुन्जेलसम्म सहमतिको प्रयास जारी रहेको जनाइएको छ।
उम्मेदवारीका लागि धेरैले फाराम लगेको, तर दर्तापछि मात्रै कुन पदमा कसको दाबेदारी छ भन्ने यकिन हुने प्रदेश सचिव धर्मराज पाठकले बताए। अहिले भने प्रदेश कमिटीको नेतृत्वसहित सबै पदमा सर्वसम्मत चयनका लागि सहमतिको प्रयास भइरहेको सचिव पाठकको भनाइ छ।
निर्वाचन समितिले मंगलबार बिहान ९:३० बजेसम्म उम्मेदवारी दर्ता, ११:३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन तथा दिउँसो २:३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको कार्यक्रम तय गरेको छ। तय कार्यक्रमअनुसार मंगलबार साँझ ५ बजेबाट मतदान सुरु हुनेछ।
प्रदेश अध्यक्षका लागि अछामका कृष्ण प्रसाद जैशी र कमल तिमिल्सिना तथा बझाङका बचन सिंह आकांक्षी रहेका छन्।
आइतबार धनगढीमा भएको प्रथम अधिवेशनको उद्घाट्न अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।