काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ बोलाएको सर्वदलीय बैठकमा इजरायल घटना र उद्धारका विषयमा छलफल भएको छ।
सबै दलहरुले सरकारले उनीहरको उद्धारका लागि लिएको पहल सही भए पनि कार्यान्वयन गर्न आग्रह गरेका छन्। सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकमा सबै दलका नेताहरुले इजरायलमा रहेका नेपालीहरुको सुरक्षा र मृतकको शव यथाशिघ्र नेपाल ल्याइ परिवारलाई बुझाउन आग्रह गरेको नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताए।
उनले सरकारले सन्तुलित ढंगबाट प्रस्तुत हुनुपर्ने र जिओपोलिटिकल सेन्सिटिभिटीलाई हेरेर पनि चल्नुपर्ने कुरा आफूहरुले राखेको बताए। उनले बंकरमा बसेकाहरुलाई तत्काल उद्धार गर्न पनि आग्रह गरेको बताए।
उनले भने, ‘सरकारले सन्तुलित ढंगबाट प्रस्तुत हुनुपर्छ। हामीले देशको जिओपोलिटिकल सेन्सिटिभिटीलाई हेरेर पनि चल्नुपर्छ भन्ने हिसाबले पनि कुरा राख्यौं। किनभने यहाँ कोही आतंककारीहरुले हमला गरे भन्ने ढंगले प्रस्तुत हुने हो भने बेलाबेलामा त्यस्तो हुने गरेको छ, त्यस्तो नहोस् भन्ने कुरा राख्यौं। त्यहाँ बंकरमा बसेकाहरुलाई तत्काल उद्धार गर्नुस् भनेर भनेका छौं। निर्णय राम्रो गरे पनि कार्यान्वयनमा जोड होस् भन्ने हो।’
बैठकपछि नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले इजरायलमा भएको घटनाबारेमा छलफल भएको तथा राष्ट्र र समग्र पार्टी नै एक ठाउँमा उभिनुपर्नेमा जोड दिइएको बताए।
उनले भने, ‘इजरायलमा भएको घटनाबारेमा छलफल भयो। राष्ट्र र समग्र पार्टी नै एक ठाउँमा उभिनुपर्ने हुन्छ, एउटै अवधारणा बनाउनुपर्छ भनेर त्यसको लागि सुझाव लिऔं। र सरकारका निर्णयका बारेमा रिपोर्ट गर्ने बारेमा विषयवस्तु राख्नुभयो। सरकारले लिएको पहलकदमी ठीक छ, कार्यान्वयनमा लागोस् भन्ने छ।’
त्यस्तै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले इजरायलमा भएको हमलामा पीडामा र डरमा रहेका नेपालीलाई सुरक्षित स्थानमा राख्न आग्र गरिएको बताए।
उनले भने, ‘इजरायलमा भएको हमलामा मानिसहरु पीडामा छन्, डरमा बसेका छन्, भन्ने बारेमा छलफल भयो। सरकारले गरेका निर्णयका बारेमा पनि जानकारी गरायो। सबै नेताले आफ्ना धारणा राखे। राष्ट्रिय पीडाको अवस्था छ। मानिस त्रासमा छन्। सम्पर्कविहीन छन्, त्यसबारेमा कसरी अघि बढ्ने भन्ने बारेमा छलफल भयो। असुरक्षित ठाउँमा रहेका नेपालीलाई तत्काल उद्धार गर्ने र सुरक्षित स्थानमा राख्न सरकारले पहल गर्ने, मृत्यु भएकाको शव देशमा चाँडो झिकाउने कुरा भएको छ।’
प्रमुख सचेतक लेखकले असुरक्षित ठाउँमा रहेका नेपालीलाई तत्काल उद्धार गर्ने र सुरक्षित स्थानमा राख्न सरकारले पहल गर्ने तथा मृत्यु भएकाको शव देशमा चाँडो झिकाउने बारेमा छलफल भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।