धनगढी– कैलालीको दक्षिण पूर्वी क्षेत्रमा पर्ने कान्द्रा, पथरैया, काँडा र मोहना नदीको दोभानमा जल सतह बढेका बेला सहज रुपमा डल्फिनको अवलोकन गर्न सकिन्छ। कैलालीका यी नदीको दोभाननै विश्वमै सबैभन्दा नजिकबाट सहज रुपले डल्फिनको अवलोकन गर्न सकिने ठाउँ रहेको संरक्षण प्रेमी बताउँछन्।
अवलोकनको लागि डल्फिन संरक्षण केन्द्र भजनीले नदीको दोभान रहेको ठाउँ ढुंगाना टोलमा टावरसमेत निर्माण गरेको छ। नदीमा जल सतह बढेको बेला यो टावरबाट पनि डल्फिन अवलोकन गर्न सकिन्छ।
वर्षायामको समयमा नदीमा डुंगामार्फत जलयात्राको आनन्द लिन सकिने र डल्फिनको अवलोकन पनि गर्न सकिने अनुभव स्थानीय संरक्षण प्रेमी फुलराम चौधरी बताउँछन्। घुम्न आउने पर्यटकलाई डल्फिन अवलोकन गराउन नदी तटीय क्षेत्रतर्फ लैजाने काममा स्थानीय युवा सक्रिय हुने गर्दछन्।
विद्यालयको छुट्टीपछि आफूले पर्यटकलाई डल्फिन अवलोकन गराउन नदी तटीय क्षेत्रमा लैजाने गरेको स्थानीय युवा गोकुल भण्डारीले बताए।
मानिसपछिको दोस्रो बुद्धिमान र स्तनधारी प्राणी डल्फिन हो र यसको संरक्षण गर्नुपर्छ भन्ने चेतना यहाँका युवा वर्गमा देखिन्छ।
कैलालीको टीकापुर बजार र भजनी हुँदै डल्फिन देखिने नदी तटीय क्षेत्रमा पुग्न सकिन्छ।
बेलायती नागरिकको मोह
डल्फिन संरक्षणका अलावा विदेशी पर्यटकलाई डल्फिन चरन क्षेत्रमा घुमाउनका लागि उत्प्रेरित गराउनमा बेलायती नागरिक जोन स्पासार्टले योगदान दिइरहेका छन्।
डल्फिन चरन क्षेत्र ढुंगाना टोलमा भेटिएका स्पासार्टले यहाँका नदीमा डल्फिनको सहज रुपमा अवलोकन गरेर मनोरञ्जन लिन सकिने अनुभव सुनाए।
ठाकुरद्वारामा पर्यटकलाई लक्षित गरी सञ्चालनमा रहेको ‘वाइल्ड ट्रयाक एडभान्चर’मा लगानी गरेका संरक्षण प्रेमी स्पासार्टले प्रश्न गरे, ‘कर्णाली नदी र बबई नदीको पानी केवल सिँचाइमा प्रयोग गर्ने गरी आयोजना निर्माण भइरहेको अवस्थामा यो क्षेत्रका बाघ, हात्ती र डल्फिनका लागि पानी कहाँबाट प्राप्त हुन्छ?’

तस्बिर : स्वताह ट्राभल
डल्फिनको संरक्षण, प्रवर्द्धन, प्रचारमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै डल्फिन महोत्सवका क्रममा हालैै संरक्षण प्रेमीद्वय स्पासार्ट, ‘गुलेली बाजे‘का नामले चिनिएका भोजराज श्रेष्ठ र कलाकार चाँदनी हमाललाई सम्मानित गरिएको थियो।
डल्फिनको संरक्षणमा ‘गुलेली बाजे’
गाउँमा ‘गुलेली बाजे’का नामले चिनिएका भोजराज श्रेष्ठको एक्लो पहलमा नै सर्वप्रथम कैलालीको मोहना, कान्द्रा, काँडा र पथरैया नदीको दोभानमा दुर्लभ जलचर डल्फिन वर्षायाममा देखिने गरेको विषय सार्वजनिक भएकाे थियो।
उनले यो विषय सार्वजनिक गरेसँगै डल्फिनको संरक्षण, प्रवर्द्धन एवम् प्रचारप्रसार अभियान पनि सुरु गरे। ८४ वर्षीय श्रेष्ठ अहिले पनि तन्नेरीले झै संरक्षण अभियानमा लागिरहेका छन्।
डल्फिन संरक्षण केन्द्र कैलालीका संस्थापकसमेत रहेका श्रेष्ठले संस्थामार्फत डल्फिनको संवर्द्धन सम्बन्धी क्रियाकलाप गर्दै आएका छन्।
श्रेष्ठले डल्फिनको अवलोकन गर्न आउने पर्यटक वर्षेनी बढ्दै गएकोे बताए। यो क्षेत्रमा १ सय ३० वटा डल्फिन रहेको अनुमान गरिएको छ।
कैलाली भ्रमण वर्ष २०७५ अन्तर्गत हालै सो क्षेत्रमा डल्फिन महोत्सव गरिएको थियो। नदीमा जलयात्रा (र्याफ्टिङ)को आनन्द लिँदै डल्फिनको अवलोकन पनि गर्न पाइने यो ठाउँ अवलोकनका लागि नेपालकै प्रमुख गन्तव्य हुनसक्ने अर्का संरक्षण प्रेमी विजयराज श्रेष्ठ बताउँछन्।
कैलाली भ्रमण वर्ष सचिवालयका संयोजक एवम् जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापाले कैलाली भ्रमण वर्षमा डल्फिन चरन क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा लिएको बताए।
वर्षायाममा भारतको घाँघरा नदीबाट कैलालीका यी नदीमा डल्फिन बच्चा जन्माउन आउने र पानीको सतह घटेपछि पुनः घाँघरा नदीमै फर्किने गरेको संरक्षण प्रेमीको भनाइ छ।
यहाँका नदीमा जन्मिएका बच्चा फर्किँदा वयस्क भएर जाने गरेको श्रेष्ठले बताए।
सो क्षेत्रमा गठन भएको डल्फिन संरक्षण क्षेत्र केन्द्र अन्तर्गत डल्फिन संरक्षण उपकेन्द्रका साथै डल्फिन क्लब र इको क्लबले डल्फिन संरक्षणका लागि विभिन्न गतिविधि गरिरहेका छन्।
(सिद्धराज भट्ट/रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।