काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अर्थविद् डा स्वर्णिम वाग्लेले बजेटमा तोकिएको समयसीमाभित्र कामै गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।
आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले चालू आर्थिक वर्षको बजेटमा उल्लेख गरिएको समयसीमाभित्र रहेर सरकार आफैंले काम नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
तर सांसद वाग्लेले नेपाल राष्ट्र बैंकले भने मुलुकको अर्थतन्त्रमा राहत दिने खालका नीतिहरु ल्याएको भन्दै स्वागत गरे। उनले मुलुकको आर्थिक दुरावस्थाका लागि नेपाल राष्ट्र बैंकलाई मात्रै जिम्मेवार ठहर्याउने परिपाटीबाट छुटकारा पाउनैपर्ने बताए।
सांसद वाग्लेले भने, ‘सरकार आफैंले गर्नुपर्ने आर्थिक वृद्धिको काम भने केही पनि भएको छैन। कसिलो आयात र मौद्रिक नीतिले गर्दाखेरी शोधानान्तर स्थिति अलिक सुध्रिएको देखिएयता पनि सरकार आफैंले गर्छु भनेका काम चाहिँ कत्ति पनि नभएकोतर्फ म ध्यानाकर्षण गराउन चाहन्छु। यो बजेट म ४ महिनापछि फेरि पल्टाएर हेर्दैछु। धेरै कुराहरु असारसम्म गर्ने भनिएको थियो। केही कुराहरु साउनसम्म गर्छु भनिएको थियो। विभिन्न म्यादहरु कुनै पनि पूरा भएका छैनन्। हामीले अर्थमन्त्रीलाई शंकाको लाभ दिएकै हो। तर त्यो स्पिरिट अनुसार काम भएको छैन।’
उनले यस्तो सरकारी नैराश्यताका बीच पनि राष्ट्र बैंकले भने केही कसिला नीतिहरुलाई खुकुलो गरेको भन्दै प्रशंसा गरे। उनले भने, ‘त्यसको म स्वागत गर्न चाहन्छु। अर्थतन्त्रमा यसले केही राहत मिलेको छ। तर आर्थिक दुरावस्थाका लागि खाली केन्द्रीय बैंकलाई मात्रै जिम्मेवार ठहर्याउने परिपाटीबाट हामीले छुटकारा पाउनैपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।