काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको महत्वाकांक्षी योजना बेल्ड एन्ड रोड इनिसिएटिभ (बीआरआई)को वित्तीय लगानीको मोडलबारे अझै छलफल आवश्यक रहेको बताएका छन्। त्यसका लागि छिमेकी चीन तयार हुनुपर्ने उनको भनाइ छ।
आइतबार काठमाडौंमा आयोजित ‘बीआरआईको एक दशकः व्यापार, लगानी र सम्पर्क सञ्जाल’ विषय कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बीआरआईको वित्तीय लगानीको मोडलका बारेमा अझ मसिनो ढङ्गले छलफल गर्न आवश्यक रहेको बताए।
‘यस्ता परियोजनाको वित्तीय लगानीको मोडलका बारेमा हामी अझ मसिनो ढङ्गले छलफल गर्नेछौँ। चिनियाँ पक्षले पनि लगानीसम्बन्धी आफ्नो नीतिमा पुनर्विचार गर्दै कतिपय परियोजनाहरूका सन्दर्भमा नेपालका लागि अनुदान र सहायताको नीति लिने हाम्रो विश्वास छ,’ प्रधानमन्त्री प्रचण्डले भने।
नेपालले बीआरआई परियोजनाको कार्यान्वयन मार्फत विकास र समृद्धिलाई तीव्रता लिन चाहेको बताएका छन्।
‘यस बीचमा बीआरआई परियोजना अघि बढाउन केही ढिलाइ भएको प्रश्नहरू यदाकदा सुनिने गरेका छन्। यसका लागि कोभिड महामारी, हाम्रा प्रणाली र संरचनागत सीमाहरू समेत जिम्मेवार छन्। तर नेपाल बीआरआई परियोजना कार्यान्वयनमार्फत् विकास र समृद्धिलाई तीव्रता दिन चाहन्छ,’ प्रचण्डले उल्लेख गरे।
पछिल्लो समय नेपाल बीआरआईको कार्यन्वयनमा उदाशीन रहने गरेको कुरा बाहिर आए पनि देशकै प्रधानमन्त्रीको तहबाट प्रचण्डले सो कार्यक्रमको पक्षमा महत्त्वपूर्ण अभिव्यक्ति दिएका छन्। भर्खरै चीन भ्रमणबाट र्फकिएका प्रधानमन्त्री प्रचण्डले उक्त परियोजनाको कार्यन्वयनमा भने कुनै ठोस प्रगती नगरी आएक छन्।
उनले आफू उक्त परियोजनाप्रति भने प्रतिबद्ध रहेको बताए। ‘नेपाल अब भूपरिवेष्ठित देशबाट भूजडित देश हुनेछ भन्ने महामहिम राष्ट्रपति सी चीनफिङको भनाइप्रति मेरो पूर्ण सहमति छ, जुन कुरा मैले केही दशकदेखि दृढतापूर्वक भन्दै पनि आएको छु। अब हामीले उक्त युक्तिलाई वास्तविकतामा बदल्न सामूहिक पहलकदमी लिनुपर्नेछ,’ प्रधानमन्त्री प्रचण्डले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।