काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोईरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सरकारको बाटो खाली गर्न आग्रह गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश अफ्ठ्यारो स्थितिबिाट अघि बढिरहेको भन्दै सरकार सच्चिन आवश्यक रहेको र सच्चिन नसके बाटो खाली गरिदिनुपर्ने बताएका हुन्।
उनले भने, ‘देश अराजकताबाट गइरहेको छ। देशको प्रधानमन्त्री भन्न त हुँदैन, गोरखाबाटै जितेर प्रधानमन्त्री हुनुभएको छ। देशको प्रधानमन्त्री के भन्नुहुन्छ भने दुई लाख मान्छे सडकमा उतार्छु। उहाँ देशको, तपाईं हाम्रो प्रधानमन्त्री हो की उहाँ एउटा पार्टीको सभापति हो? पार्टीको सभापति हो भने उहाँले जे बोले पनि हुन्छ। तर देशको प्रधानमन्त्रीले त्यस्तो गैर जिम्मेवार कुरा गर्न मिल्दैन। उहाँ २०८४ मा मलाई भोट देउ, माओवादीलाई जिताउ म जातीय राज्य दिन्छु भन्नुहुन्छ । लाग्छ उहाँले खल्तीबाट राज्य निकालेर दिने हो। त्यस्तै गैर जिम्मेवार, अभिव्यक्ति प्रधानमन्त्रीबाट आउनु, नेपालीहरुको लागि दुर्भाग्य हो। त्यसैले यो सरकार सच्चिनुपर्छ। सच्चिन सक्दैन भने छोड्नुपर्छ। कांग्रेसले मात्रै यी अराजकताहरुलाई समाप्त गर्नसक्छ।’
उनले देशमा जताततै अराजकता रहेको उल्लेख गर्दै यस परिस्थितिलाई कांग्रेसबाहेक अरुले सम्हाल्न नसक्ने दाबीसमेत गरे। उनले देशको प्रधानमन्त्रीले पार्टीको सभापति झैं दुई लाख मान्छे सडकमा उतार्छु, २०८४ मा माओवादीलाई जिताउ म जातीय राज्य दिन्छु जस्ता अराजक अभिव्यक्ति दिएको बताए।
उनले जातीय राज्य गोजीबाट निकालेर दिने हो? भन्दै प्रश्नसमेत गरे। गैर जिम्मेवार अभिव्यक्ति प्रधानमन्त्रीबाट आउनु नेपालीहरुको लागि दुर्भाग्य रहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।