काठमाडौं– नेकपा एमाले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा नवराज शर्मा विजयी भएका छन्। प्रतिस्पर्धी मायानाथ अधिकारीलाई १७५ मतको अन्तरले हराउँदै शर्मा अध्यक्षमा विजयी भएका हुन्।
विजयी शर्माले ५३१ मत प्राप्त गरे। प्रतिस्पर्धी अधिकारीले ३६५ मत ल्याए।
लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशनमा महासचिव शंकर पोखरेल तथा स्थायी कमिटी सदस्य खगराज अधिकारी र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पक्षधरबीच प्यानलगत प्रतिस्पर्धा भएको थियो। अध्यक्षमा विजयी शर्मा गुरुङ पक्षका हुन्।
महासचिव पोखरेल र स्थायी कमिटी सदस्य अधिकारी पक्षधर अधिकारीको प्यानलले नराम्रो हार बेहोरेको छ। उपाध्यक्षमा पनि गुरुङ पक्षधर शर्माका प्यानलबाट मिनप्रसाद गुरुङ ५२० मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी बाबुराम विश्वकर्माले ३६२ मत ल्याए।
सचिवमा नवराज प्यानलकै धनञ्जय दवाडी ५२० मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी कास्कीका रश्मी आचार्यले ३७६ मत ल्याए।
उपसचिव पदमा पनि शर्मा प्यानलकै दामबहादुर विक ४९९ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी सन्तोष रावलले ३९७ मत ल्याए।
उपसचिव महिलातर्फ पनि शर्मा प्यानलकै मञ्जु अधिकारी ‘प्यासी’ ५३१ ल्याएर विजयी भइन्। उनका प्रतिस्पर्धी मिना गुरुङले ३६५ मत ल्याइन्।
गण्डकी प्रदेश कमिटीको अधिवेशनका लागि कुल ९०७ मतदातामध्ये ८९६ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले जानकारी दिए।
१६५ पदका लागि भएको निर्वाचनमा २७७ जनाको उम्मेदवारी परेको थियो। विभिन्न कलस्टरबाट ३१ जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।