काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आममाफी प्रकरणमा अदालतको प्रवेशलाई लिएर स्वागतयोग्य भएको बताएका छन्।
हत्या अभियोगमा जन्मकैद सजाय पाएका गुण्डा नाइके ‘रिगल’ उर्फ योगराज ढकाललाई संविधान दिवसमा अवसरमा सरकारले राष्ट्रपति मार्फत् आममाफी दिएको थियो।
उक्त निर्णयको सर्वत्र आलोचना भइरहँदा हत्या भएका चेतन मानन्धरकी पत्नी भारती मानन्धरले दायर गरेको रिटमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेपछि महामन्त्री शर्माले यसलाई स्वागतयोग्य बताएका छन्।
सामाजिक सञ्जाल ट्विटरमा यसबारे आफ्नो धारणा राख्दै महामन्त्री शर्माले लेखेका छन्, ‘आम माफी प्रकरणमा अदालतको प्रवेश स्वागतयोग्य! विसंगतिविरुद्ध नवीन बहस!’
उनले यसलाई लोकतन्त्रमा धब्बा लाग्ने कुनै पनि निर्णय बरदभागी हुनुपर्छ भन्ने विषय लोकको मात्र नभइ मानवीय भावको अपेक्षा र सुशासनको माग पनि रहेको बताएका छन्।
उनले अघि लेखेका छन्, ‘सकारात्मक आदेशमार्फत् अदालतले नकारात्मक कर्महरु नियन्त्रणमा `रचनात्मक हस्तक्षेप´ गर्नसक्छ! नकारात्मक आदेशले त्यसलाई वैधता त दिन्छ नै, निरन्तरतालाई प्रोत्साहित समेत गर्नेछ!’
यस्तै उनले संविधान र कानुनको व्याख्याको अधिकार अदालतमा हुनुलाई प्राविधिक मात्र नभए प्राज्ञिक कोणबाट हेरिनुपर्ने उल्लेख गरेका छन्।
लगातार एकपछि अर्को ट्विट गर्दै महामन्त्री शर्माले भनेका छन्, ‘सजाय मिनाहा, सजाय अवधि कटौती, आममाफी जस्ता कानुनी प्रावधान लोकतन्त्र बदनाम तुल्याउन दुरुपयोग भएका छन्! अदालतको आदेशले नवीन नजिर स्थापित गर्ने सकारात्मक अपेक्षामा छ देश! मुद्दा चलिरहँदा यो भन्दा बढी नबोलौं! आगे अदालतकै मर्जी!’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।