धनगढी– नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य तथा युवा संघ नेपालका पूर्व अध्यक्ष वचनबहादुर सिंहले प्रदेश अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
असोज २१ गते हुन लागेको प्रदेशको अधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवार बन्न धनगढीमा पत्रकार भेटघाटका क्रममा बताएका हुन्।
पार्टी सुसंगठित, सुव्यवस्थित र सक्षम बनाउनका लागि अध्यक्ष पदमा दाबी गर्ने बताए। उनले भने, ‘पार्टीलाई प्रदेश स्तरमा पुनस्थापित गराउने, जनवर्गिय संगठनहरुलाई व्यवस्थित, मर्यादित, समयानुकूल, विधिसम्मत, व्यवसायिक, संगठित र सशक्त बनाउँदै देश र जनताको सेवामा सक्रिय बनाउन म प्रदेश अध्यक्ष हुन चाहेको हु।’
उनले पार्टीको प्रदेश नेतृत्वका लागि आकांक्षीहरु एक भएर सहमतिमा आउने बताउँदै भने, ‘पार्टीलाई बलियो बनाउन युवा जोस र अग्रजको सल्लाहका आधारमा अघि बढाउने प्रयास गर्ने छु।’
प्रदेश अध्यक्षका लागि अछामका कमल तिमिल्सेना र अछामकै कृष्णप्रसाद जैशीले पनि प्यानल खडा गरी चुनावी मैदानमा होमिने तयारी गरेका छन्।
हालका अध्यक्ष रहेका दामोदर भण्डारी प्रतिनिधि सभा सदस्य र सचिव धर्मराज पाठक प्रदेश सभा सदस्य रहेकाले विधिअनुसार उनीहरु अध्यक्षमा उम्मेदवार बन्न पाउने छैनन्। अध्यक्षका दाबेदार सिंहले भने, ‘केन्द्रीय कमिटीका अधिकांश नेताहरु कुनै न कुनै पदमा रहेका छन्। नेताहरुले मलाई विश्वास गरेर अघि बढाउनेमा म विश्वस्त छु।’
अध्यक्ष पदका अर्का उम्मेदवार तिमिल्सेना २०४४ सालदेखि अनेरास्ववियु, तत्कालीन प्रजातान्त्रिक युवा संघको केन्द्रीय सचिवालय हुँदै एमालेको जिल्ला कमिटी सदस्य र एमालेको जिल्ला अध्यक्ष अञ्चल कमिटी सदस्य हुँदै उनी प्रदेशका उपाध्यक्ष बनेका हुन्।
आफू प्रदेश कमिटीको बहालवाला उपाध्यक्ष भएकोले अध्यक्षको स्वाभाविक दाबेदार भएको उनले बताए। उपाध्यक्ष भएर प्रदेशको काम गरेको अनुभव र पार्टीलाई अझ एकताबद्ध, पार्टीमा समन्वयकारी, संविधानको कार्यान्वयन, पार्टीभित्र दक्षिणपन्थी अवसरवाद, संरचनात्मक अराजकता हुन नदिन आफ्नो उम्मेदवारी भएको बताए।
अध्यक्षका अर्का आकांक्षी जैशीसँग अछाम जिल्ला विकास समितिको सभापति, पार्टीको गाउँ कमिटी हुँदै पार्टीको जिल्ला कमिटी उपसचिव र दुई पटक सचिव भएको अनुभव छ।
धनगढीमा हुने अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने तय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।