काठमाडौं- नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले संसारको जहाँसुकै देशको विकास पनि कृषिमा सुधार, कृषिको क्रान्ति, त्यसमार्फत् उद्योगको आधार तयार गर्ने र सेवा क्षेत्र विकास गर्ने बाटोबाट मात्रै हुने बताएका छन्।
समाजवादी जागरण अभियानको क्रममा बुधबार सर्लाहीको लालबन्दीमा सम्बोधन गर्दै उनले विकासको बाटो त्यही भएको बताए। नेपालमा भने राजनीतिक नेतृत्वले पानीजहाज र रेलको कुरा गरेर कृषिमा हस्तक्षेप गर्ने कुरा बिर्सिएको उनको भनाइ छ।
'हामीले कहिले भ्युटावरको कुरा गरेर, कहिले प्रशान्त महासागरमा पानीजहाज चलाउने कुरा गरेर, कहिले अन्तरदेशीय चुच्चे रेल चलाउने कुरा गरेर कृषिमा हस्तक्षेप गर्ने कुरा बिर्सियौँ। हाम्रो राजनीतिक नेतृत्वले बिर्सियो। हामी पपुलिस्ट भयौँ। आफैं पपुलिस्ट भयौँ', उनले भने।
भूसालले आफूहरूका एक बेलाको नेतृत्व आफैं पपुलिस्ट भएको हुनाले आज स्वतन्त्रका नाममा पपुलिस्टहरू निस्किएको बताए। 'आज निस्किएका पपुलिस्टहरू हिजोको हाम्रै राजनीतिक नेतृत्वका पपुलिजमको मानसपुत्रका रुपमा आएका छन् भन्ने मलाई लागेको छ', उनले भने।
भूसालले अहिलेको प्रमुख काम कृषिमै हस्तक्षेप नै भएको दोहोर्यारए। भने, 'कुनै पनि कृषकले कृषिमा काम गरेर त्यसबापत लगानी समेत प्राप्त गरेर केही न केही बचत गर्छ भन्ने कुराको राज्यले ग्यारेन्टी गरिदिनुपर्छ। त्यो गर्न सकिने कुरा हो। असम्भव कुरा होइन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।